शनिवार, आश्विन १७ गते २०८३

मान्छेलाई राक्षस बनाएर २४ भदौको आगजनी घृणाको पराकाष्टा थियो : ओली

बिहिवार , कार्तिक २०, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लामो समयदेखि घृणा फैलाएर मान्छेलाई राक्षसमा परिणत गरेपछि २४ भदौमा आगजनीको विध्वंश भएको दाबी गरेका छन् ।

भक्तपुरको गुन्डुस्थित निवासमा आफ्नो पार्टीका नेता–कार्यकर्तासँगको भेटमा ओलीले देश अहिले असहज अवस्थामा पुग्नुमा समाजमा फैलाइएको घृणा सबैभन्दा महत्त्वपूर्ण कारण रहेको बताएका छन् । ‘सम्मानजनक ढंगले बोल्ने, अरुलाई आदर गर्ने हाम्रो परम्परा छ । त्यसलाई बिथोलेर अपशव्द बोलेर लेखेर घृणा फैलाउनेहरूले धेरै अघिदेखि नै समाजलाई भताभुंग पार्न खोजे । ध्वस्त पार्न खोजे ।’

उनले भने, ‘२४ भदौको आगजनी घृणाको पराकाष्टा थियो । घृणा फैलाउँदै लगेर मान्छेलाई राक्षसमा परिणत गरेर आगो लगाइएको हो ।’ सामान्य अवस्थाको मान्छेले त्यसरी आगो लगाउन नसक्ने भन्दै उनले भने, ‘मान्छेले त आगो लगाउनै सक्दैन । मान्छेलाई राक्षसमा परिणत गरेपछि मात्र आगो लगाउन सकिन्छ । अहिले त्यही भएको हो ।’ पूर्वप्रधानमन्त्री ओलीले घृणा फैलाउने काममा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पनि भूमिका रहेकोतर्फ इंगित गरेका छन् ।

बालेनको नाम नलिई उनले भने, ‘स्टाटस लेख्दा नेपालीले बोल्ने भाषा लेख्छ ? त्यो असभ्यता हाम्रो संस्कृतिभित्र पर्दैन । त्यो असामाजिकता हाम्रो संस्कृतिभित्र पर्दैन । हाम्रो परम्परा सभ्य, आदर हो । असहमति राख्दा पनि सम्मानजनक ढंगले राख्ने हाम्रो परम्परा हो, अहिले त अपशब्द बोलेर सुरु गर्नेहरू छन् ।’

मेयर बालेनले केही दिनअघि मध्यरात आपत्तिजनक शब्द प्रयोग गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए । आलोचनापछि उनले आधा घण्टामै स्टाटस हटाएका थिए । कार्यक्रममा एमाले अध्यक्ष ओलीले अहिले देश असहज अवस्थामा पुगेको बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार