आइतवार, श्रावण २४ गते २०८३

फेरि एमाले फुटाउने दाउमा प्रचण्ड : यस पटक पनि सफल होला प्रचण्डको प्रयास ?

आइतवार , कार्तिक २३, २०८२

काठमाडौँ । २०७८ भदौ २ गते संसदको सबैभन्दा ठुलो दल नेकपा एमाले फुटेको थियो । माधव कुमार नेपालले आफ्नो पक्षका नेताहरुलाई लिएर एमाले फुटाएका थिए ।

बाहिरबाट माधव नेपालले एमाले फुटाएको जस्तो देखिन्छ । तर, यसको जरोसम्म गएर बुझ्दा एमाले फुटाउनुमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको ठुलो हात थियो । माधव नेपाललाई फकाएर उनले एमाले फुटाएका हुन् भन्दा फरक नपर्ला । तर, फेरि प्रचण्डले एमाले फुटाउने कसरत गरेका छन् । 

नेकपा माओवादी केन्द्रभित्र जनार्दन शर्मा लगायतका नेताहरु असहमत हुँदासमेत प्रचण्डले १० वाम दलसँग एकता गरेका छन् । १० वर्षे जनयुद्धको जगमा निर्माण भएको माओवादी अब नेपाली कम्युनिष्ट पार्र्टी (नेकपा ) बनेको छ । विगतमा एमाले फुटाउने माधव नेपाललाई पनि उनले आफ्नो साथमा लिएका छन् । प्रचण्डले माधव नेपाललाई नेकपाको सहसंयोजक बनाएका छन् । यसैबीच प्रचण्डले एमालेको एक सहमुहलाई नेकपामा ल्याउने प्रयास गरिरहेका छन् । एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीप्रति एक समुह असन्तुष्ट छ । त्यहि असन्तुष्ट समुहलाई नेकपामा ल्याउने प्रचण्डको रणनीति हो । 

यसबारे थाहा पाउन भृकुटीमण्डपमा आयोजित एकता सभामा प्रचण्डले बोलेका शब्द एकपटक नियाल्नु पर्छ । उक्त सभालाई सम्बोधन गर्दै प्रचण्डले भनेका थिए, ‘१०पार्टी मिल्दैमा पुग्यो भन्ने पक्षमा छैनौँ। अझै एकताबद्ध गर्न तयार छौँ। समाजवादी मोर्चामा रहेका होस् या अन्य कम्युनिस्ट घटकहरू या एमालेसँग समेत बृहत् एकताको निम्ति राष्ट्र बचाउन, लोकतन्त्र र गणतन्त्रको रक्षाका निम्ति हामी सबैसँग हातेमालो गर्न तयार छौँ। जोसँग छिटो मिल्छ एकता गर्छौँ। पछि मिल्नेसँग मोर्चा बनाएर जान्छौँ।’

एमाले फुटाएर ओलीसँग असन्तुष्ट नेताहरुलाई नेकपामा भित्र्याउने प्रचण्डको प्रयास सफल हुन्छ, या हुँदैन त्यो समयले बताउने छ । तर, प्रचण्डले एमाले फुटाउने कदम भने अगाडि बढाइसकेका छन् । ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता रोकेका छन् । त्यसैले विद्या पक्ष ओलीसँग असन्तुष्ट छ । पछिल्लो समय प्रचण्डको योजना अनुसार नारायणकाजी श्रेष्ठले भण्डारीसँग छलफल गरेको समेत खुलेको छ । 

प्रतिक्रिया
सम्बन्धित समाचार