आइतवार, श्रावण २४ गते २०८३

भरतपुर अस्पतालमा सुत्केरी गराउन आएकी एक महिलाको मृत्यु, आफन्तहरूको नारावाजी

सोमवार , कार्तिक २४, २०८२

काठमाडौं । सुत्केरी गराउन आएकी एक महिलाको मृत्यु भएको विषयलाई लिएर मृतकका आफन्तहरूले भरतपुर अस्पतालमा नारावाजी गरेका छन् ।

पर्सा स्थायी घर भई चितवनको कालिका नगरपालिका–२ बस्ने ३० वर्षकी संगीता विकको शनिबार उपचारको क्रममा मृत्यु भएपछि परिवार र आफन्तले चिकित्सकको लापरबाही भन्दै अस्पतालमा नाराबाजी गरेका छन् । मृतकका आफन्तहरूले प्रसूति सेवा लिन आएका महिलाहरू भर्ना गरिएको वार्ड अगाडि पुगेर नाराबाजी गरेका हुन् ।

संगीताको मृत्युपश्चात आफन्तले चिकित्सकको लापरबाहीका कारण ज्यान गएको भन्दै छानबिन र दोषीलाई कारबाहीको माग गरेका छन् । आफन्तका अनुसार संगीतालाई कात्तिक २० गते चेकजाँचका लागि भरतपुर अस्पतालमा भर्ना गरिएको थियो । भिडियो एक्सरेमा बच्चाको धड्कन नभएको देखिएपछि चिकित्सकको सल्लाहमा उनलाई अस्पतालमा नर्मल डेलिभरीको प्रयास गरिएको थियो ।

२२ कात्तिकमा उनको अवस्था झन् बिग्रँदै गएको र रातको करिब ९ बजे आईसीयूमा सारिएकोमा सोही राति ११ः४० मा मृत्यु भएको थियो । अस्पतालका प्रवक्ता एवम् स्त्री तथा प्रस्तूति रोग विशेषज्ञ डा. रामप्रसाद सापकोटाले उपचारमा कुनै लापरबाही नभएको भन्दै पल्मोनरी एम्बोलिजमका कारण मृत्यु भएको दावी गरेका छन् ।

बच्चाको धड्कन नभएको पुष्टि भएपछि तत्कालै अप्रेशन गरेर बच्चा ननिकाल्दा उनको ज्यान गएको मृतकका आफन्तको भनाइ छ । अस्पतालले पेटभित्रै शिशुको मृत्यु भइसकेपछि आमालाई शल्यक्रियाको अनावश्यक जोखिमबाट जोगाउन नर्मल डेलिभरीको प्रयास गरिएको बताउँदै आएको छ ।

सुत्केरी हुन व्यथा लाग्ने औषधि चलाउने बित्तिकै संगीतालाई ‘कार्डियाक अरेस्ट’ भएको र सीपीआर दिँदै आईसीयूमा लगेर बचाउने प्रयास गरिए पनि सम्भव नभएको डा. सापकोटाको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार