काठमाडौँ । कुलमान घिसिङको उज्यालो नेपाल पार्टीले निर्वाचन आयोगमा अध्यावधिक विवरण बुझाएको छ। साउन २७ गते नै मानबहादुर तामाङको नेतृत्वमा निवेदन दिएको उज्यालो नेपाल पार्टी पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायको अध्यक्षतामा पुनर्गठन गर्दै ५१ सदस्यीय विवरण बुझाइएको जितराम वाइबाले जानकारी दिए।
हाल ऊर्जा, भौतिक पुर्वाधार तथा सहरी विकासमन्त्री रहेका कुलमान भने चुनावताका मात्रै दलमा सक्रिय हुने भएका छन्। उनको विश्वासपात्र उपाध्यायको नेतृत्वमा आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचन सहभागी हुने गरी दल दर्ताका लागि अध्यावधिक विवरण पेस गरेका हुन्।
उज्यालो नेपालमा सुदूरपश्चिममा स्वतन्त्र सांसद ताराप्रसाद जोशी पनि छन् । उनले नेकपा एसबाट विद्रोह गरी डडेल्धुराबाट चुनाव जितेका थिए ।
त्यस्तै देउवासँग चुनाव भिडेका सागर ढकाल, मन्त्री बन्न रोकिएकी टासी ल्हान्जोम पनि आयोगमा बुझाइएको केन्द्रीय सदस्यको सूचीमा छन् । केन्द्रीय सदस्यमा यसअघि काठमाडौंको उपमेयरमा स्वतन्त्र उम्मेदवार बनेर राम्रो मत ल्याएकी विद्या श्रेष्ठ महर्जन, एमालेबाट काभ्रेको चौंरी गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेर गठबन्धनसँग हारेका गैरसरकारी संस्था महासंघका पूर्वअध्यक्ष जितराम लामा, सुशीला कार्की निकट अभियन्ता डा. अभिशेषकुमार सिंह, राजनीतिक अभियन्ता श्री गुरुङ, पहिचानवादी राजनीतिकर्मी डा. महेन्द्र लावती, डाकेन्द्र थेगिम, नेपाल रेडक्रस सोसाइटीका पूर्व केन्द्रीय अध्यक्ष डा. विशाल भण्डारीलगायत समाजका विभिन्न क्षेत्रमा संलग्न व्यक्तिहरू रहेका छन् ।
निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधि सभा चुनावका लागि कात्तिक ३० गतेसम्म दल दर्ताको निवेदन दिइसक्नुपर्ने सीमा तोकेको छ।