काठमाडौँ । अन्तरिम सरकारका उर्जामन्त्री कुलमान घिसिङको लोकप्रीयता निकै छ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदासम्म कुलमानले जनताको मन जित्ने काम गरे । नेपाललाई लोडसेडिङ मुक्त घोषणा गरेर कुलमान आम नागरिकको मनमा बस्न सफल भएका हुन् ।
उनी २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त भएका थिए । करिब १८ घण्टा लोडसेडिङ हुने गरेकोमा विद्युत प्राधिकरणको नेतृत्वमा आएको दुई महिना भित्र राजधानीलाई लोडसेडिङ मुक्त र दुई वर्षमै देशलाई नै लोडसेडिङ मुक्त गराउनु कुनै चानचुने विषय थिएन ।
कुलमानले लोडसेडिङ मुक्त मात्र गरेनन् उनले प्राधिकरणको जिम्मेवारी हाँकेदेखि प्राधिकरण पनि नाफामा जान थाल्यो । छोटो समयमै कामको नतिजा दखाएका कुलमान जनताको मुटुमा बस्न सफल भए । त्यसैले कुलमानलाई उज्यालो नेपाल न्यायकको दर्जा दिइएको छ । तर, कुलमान जति लोकप्रीय छन् त्यति नै उनको छवि धमिलो छ । उनीमाथि भ्रष्टाचारको ट्याग लागेको छ ।
उर्जामन्त्री बने लगत्तै कुलमानले विवादित सम्झौता गरेका छन् । मन्त्री कुलमान र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालको मिलेमतोमा प्राधिकरणलाई झण्डै ४३ करोड नोक्सान पुर्याउने गरी भारतीय कम्पनीसँग सम्झौता गरेको सार्वजनिक भएको छ । कुलमानले आफू ऊर्जामन्त्री बनेपछि हितेन्द्रदेव शाक्यलाई हटाउदैँ २०८२ असोज ५ गते सिलवाललाई प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा नियुक्त गरेका थिए ।
त्यसपछि असोज ६ गते भारतबाट आयात हुने विद्युतका लागि महंगो शुल्क तिर्ने सम्झौता भएको हो । यसैबीच जेनजी मुभमेन्ट नेपालले ऊर्जामन्त्री घिसिङलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । घिसिङ समेतको संलग्नतामा ‘राष्ट्रघाती’ विद्युत खरिद सम्झौता भएको भन्दै उनलाई बर्खास्त गर्न माग गरिएको हो । जेनजी मुभमेन्टले राष्ट्रघाती सम्झौतामा संलग्नलाई जेल हाल्न र राज्यका सम्पत्ति फिर्ता गराउन कानुनी प्रक्रिया तुरुन्त सुरु गर्न समेत माग गरेको छ ।
कुलमानले आफू प्राधिकरणको प्रमुख छँदै मूल्य बढाएर विद्युत खरिद गर्न भारतीय पक्षसँग सहमति जनाएका थिए । यति मात्र नभइ कुलमान कयौँ भ्रष्टाचार काण्डमा मुछिएका छन् । जसमध्ये सवा २ अर्बको स्मार्ट मिटर घोटाला प्रकरण, ६ अर्बको ट्रान्सफर्मर घोटाला प्रकरण, चार करोडमा हुने काम १४ करोडमा दाइको कम्पनीलाई जिम्मा,सोलार ग्रिडमा ८४ करोड अनियमितता प्रकरणमा कुलमान मुछिएका छन् । त्यसैले एकथरिले कुलमान भ्रष्टाचारीको नाइके भएको आरोप लगाउँछन् ।