काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टी एकढिक्का भएर जानुपर्ने आवश्यकता रहेका कारण आगामी निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने बताएका छन् ।
केन्द्रीय कार्यालय सानेपामा सुरू भएको बिहीबारको बैठकमा धारणा राख्ने क्रममा उनले आन्तरिक निर्वाचनले पार्टी खत्तम भएको बताएका छन् । सहमहामन्त्री राठौरले भने, ‘मैले बुझेको कांग्रेसमा के छ भने आन्तरिक चुनावले पार्टी खत्तम भयो, त्यसैले हामी एकढिक्का भएर जानुपर्ने भएकाले निर्वाचनपछि अधिवेशनमा जाऔँ ।’
उनले २१ फागुनको निर्वाचन अगावै महाधिवेशन गर्नुपर्ने भए विशेष महाधिवेशन गर्नुपर्ने बताएका छन् । उनले भने, ‘होइन, गर्नै पर्ने हो भने विशेष अधिवेशनमा जाऔँ,’ ‘फेस गरौँ विशेष अधिवेशन । हामी फेस गर्न तयार छौँ ।’ सहमहामन्त्री राठौरले १४ औं महाधिवेशनमा पराजित भएकाहरूले विशेष महाधिवेशन चाहेको टिप्पणीसमेत गरेका छन् ।
उनले भने, ‘म विशेष महाधिवेशनको पक्षमा छु । हेप्ने हामीलाई ? अपराधी जस्तो, बाहिर हरूवाहरूले त चाहेका छन्, केन्द्रीय समितिमा भएकाहरूलाई पनि विशेष अधिवेशन चाहिएको छ । ठीक छ, चाहिएको छ भने विशेष अधिवेशनमा जाऔँ ।’