आइतवार, श्रावण २४ गते २०८३

न्याय खोज्दैँ भौँतारिरहेका धुर्मुस : किन गरिरहेको छ भरतपुर महानगरपालिकाले आनाकानी ?

बिहिवार , कार्तिक २७, २०८२

काठमाडौँ । कालाकार सिताराम कट्टेल धुर्मुस लामो समयदेखि न्यायको खोजीमा भौँतारिरहेका छन् । वर्षौँको कलाकारिता छाडेर धुर्मुस र उनकी पत्नी सुन्तली २०७८ सालमा देशका लागि काम गर्न मैदानमा उत्रिए । नेपाल एक क्रिकेट प्रेमी देश हो । तर, एउटा गतिलो रंगशाला समेत छैन । त्यसैले धुर्मुसले चितवनमा अन्तर्राष्ट्रिय रंगशाला निर्माणको काम सुरु गरे । 

उक्त कार्यका लागि उनले चन्दा पनि उठाए । तर, करोडौँ लागेपछि धुर्मुुस ऋणले उठ्नै नसक्ने गरि थला परे । त्यसपछि सरकारलाई पनि गुहारे । तर, सरकारले सहयोग गर्न आनाकानी गर्यो । यसैबीच एकथरिले धुर्मुसले पैसा कुम्लायो, भ्रष्टाचार गरेको भन्दै अनेक आरोप लगायो ।

चौतर्फी आरोप लागेपछि उनी आत्महत्या नै गर्ने अवस्थामा पुगे । तर, अहिले भने सत्य बाहिरिएको छ । पुल्चोक इन्जीनीयरिङ संस्थानले धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण थालेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा ६० करोड भन्दा बढीको कार्य भएको सरकारी मुल्याङकन गरेको प्रतिवेदन सार्वजनिक गरेको हो ।

त्यो प्रतिवेदनमा अझै २ करोड ४६ लाखको स्टकमा रहेका सामानहरु समावेश नै छैन। धेरै खर्च नजोड्दा पनि ६० करोड भन्दा बढीको प्राविधिक मुल्यांकनको रिपोर्ट आएको छ। तर, धुर्मुसमाथि अहिले १८ करोड ४१ लाखभन्दा बढि ऋण छ । यसका लागि उनले सिंहदरबार गुहारेका थिए । अर्थ मन्त्रालयबाट रकम निकासा भइसक्दा पनि भरतपुर महानगरपालिकाले गौतमबुद्ध क्रिकेट रंगशालाको बक्यौता भुक्तानी गर्न आनाकानी गरिरहेको छ ।

बुधबार धुर्मुस सिंहदरबार पुगे । त्यसलगत्तै आफैँ अर्थको पत्र बोकेर भरतपुर महानगरपालिका पुगे ।  बुधबार महानगरमा अर्थको पत्र दर्ता गरेर धुर्मुसले मेयर रेणु दाहाललाई भेटेका छन्  । तर, विभिन्न बहानाबाजी गरेर महानगरले फाउन्डेसनलाई भुक्तानी दिएको छैन । 

धुर्मुसले कि रकम भुक्तानी गर्नुपर्ने कि भुक्तानी गर्न नसक्ने पत्र दिनुपर्ने माग राखेका छन् । अहिले धुर्मुसले आफू मानिसिक तनावमा रहेको बताएका छन् । उनी रित्तो भएका छन् । देश र जनताका लागि काम गर्न हिँड्दा एकथरिले भ्रष्टाचरीको ट्याग लगाए  र, भरतपुर महानगरले संघबाट निकासा भएको रकम दिन पनि आनाकानी गरेपछि उनी निकै चिन्तित बनेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार