काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कसको र कसले बनाएको भन्ने स्पष्ट नभएको जिकिर गरेका छन् । प्रेस चौतारी नेपालको टिमसँग गुण्डुस्थित निवासमा आइतबार बिहान छलफल गर्दै ओलीले यो सरकार कसको हो भन्नमा आशंका रहेको बताएका हुन् ।
वर्तमान सरकार संविधानबाट पनि नबनेको, संसदबाट नबनेको, दलबाट नबनेको, जेन–जीबाट नबनेको भन्दै उनले आशंका व्यक्त गरेका छन् । उनले प्रश्न गरे, ‘यो सरकार कसको प्रतिनिधि हो ? जेन–जीले मेरो सरकार होइन भन्छ । दलले हाम्रो सरकार होइन भन्छन् । संसदले यसलाई म चिन्दिन भन्छ । संविधानले मसँग यस्तो सरकार बनाउने व्यवस्था नै छैन भन्छ, आखिर यो सरकार कसको हो ?’
बेवारिसे सरकारले तोडफोड र आगलागीमा संलग्नलाई कारबाही नगरेर दण्डहीनतालाई प्रश्रय दिएको उनले दावी गरेका छन् । अध्यक्ष ओलीले भने, ‘विभिन्न नामका समूह खडा गरेर कहिले २४ गतेका विध्वंसकारीलाई पक्रन हुँदैन भन्ने ज्ञापन–पत्र बुझाउन लगाएको छ । कहिले केपी ओली र रमेश लेखकलाई पक्राउ गर्नुपर्यो भन्न लगाएको छ, यो कुनै जेन–जी समूहले गरेको होइन । सरकारले आफैं यस्ता समूहहरू खडा गरेर,आफैं ज्ञापनपत्रको ड्राफ्ट बनाएर बुझाउन लगाएको नाटक हो ।’
त्यस्ता ड्राफ्ट कहाँ बने र कसले बनायो भन्ने कुराको अभिलेख पनि आफूहरूसँग भएको निवर्तमान प्रधानमन्त्री ओलीको भनाइ छ । ओलीले मुलुकको अनिश्चयलाई सही बाटोमा ल्याउन संसद पुनर्स्थापना एक मात्र विकल्प भएको दोहोर्याएका छन् । उनले भने, ‘असंवैधानिक र अनधिकृत रूपबाट विघटन गरिएको संसदलाई पुनर्स्थापना गरेर मात्र देशलाई सही बाटोमा हिँडाउन सकिन्छ ।’ असंवैधानिक तरिकाले संसद् विघटन गर्दै जाने हो भने नजिर बस्ने भन्दै उनले अहिले नै देशलाई संवैधानिक बाटोमा फर्काउनु पर्ने धारणा राखेका छन् ।
अध्यक्ष ओलीले वर्तमान सरकारले प्रेस स्वतन्त्रतालाई पञ्चायतकालीन अवस्थामा पुर्याएको दावी गरेका छन् । उनले भने, ‘पञ्चायतकालमा संविधानमा नै प्रेस स्वतन्त्रता थिएन । अहिले संविधानमा त प्रेस स्वतन्त्रता छ तर अहिले व्यवहारमा छैन्, सेल्फ सेन्सरसिप लागू भएको छ । पत्रकारले आफूले देखेका, अनुसन्धान गरेका विषयहरू सहजै लेखे सरकारबाट खतरा छ । त्यसैले सेल्फ सेन्सरसिपको मार पत्रकारले खेपिरहेका छन् ।’
छलफलमा प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले वर्तमान अवस्थामा सञ्चारमाध्यमको अवस्था, पत्रकारप्रति बढेको सुरक्षा संवेदनशिलता र प्रेस चौतारीका गतिविधिबारे जानकारी गराएका थिए ।