आइतवार, श्रावण २४ गते २०८३

मकवानपुरस्थित बुङदलमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

आइतवार , कार्तिक ३०, २०८२

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका– १ बुङदलमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ चौकीटोलका ३९ वर्षीय वीरबहादुर गुरुङ र पूर्वनवलपरासीको कावासेती–१३ घर भई हेटौंडा–२ चौकीटोल डेरागरी बस्ने ३५ वर्षीय चन्द्रबहादुर गुरुङ रहेका छन् । वीरबहादुर मोटरसाइकल चालक हुन् भने चन्द्रबहादुर पछाडि बसेका थिए ।

बा.प्र.०३–००५ प ७९८० नम्बरको मोटरसाइकल मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमाना पर्ने बुङ्दल खोलाको पुलबाट करिब ५० मिटर तल खसेको अवस्थामा पाइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार बिहान करिब सात बजे स्थानीयले खोलामा मोटरसाइकल र अचेत अवस्थाका दुई व्यक्ति देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयको सूचनापछि इलाका प्रहरी कार्यालय चौकीटोलबाट प्रहरी घटनास्थल पुग्दा दुवैजनाको मृत्यु भइसकेको थियो । दुर्घटनास्थलको प्रकृति हेर्दा घटना शनिबार रातिको समयमा भएको अनुमान गरिएको छ । मोटरसाइकल पश्चिम (सुपारेटार–ब्यारेक)बाट पूर्व (सामरी–धादिङ) तर्फ गइरहेको अवस्थामा दुर्घटना भएको प्रहरीको अनुमान छ ।

दुवै शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइएको छ । अस्पतालमा शव ल्याइएपछि परिवारजनले पहिचान गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार