काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई पक्राउ गरेकोप्रति आपत्ति जनाएको छ ।
राप्रपाका प्रचारविभाग प्रमुख मोहनकुमार श्रेष्ठले विज्ञप्ति जारी गरी अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने गरी प्रसाईंलाई पक्राउ गरेको भन्दै रिहाइको माग गरेका हुन् । सार्वजनिक शान्ति खलल पार्ने अभिव्यक्ति भन्दै प्रहरीले प्रसाईंलाई गएराति घरबाटै पक्राउ गरेर जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट ४ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ ।
विज्ञप्तिमा उल्लेख छ, ‘अभिव्यक्ति दिएकै आधारमा ई निजी निवासमा सुतिरहेको अवस्थामा मध्यरातमा पक्राउ गर्नु अमानवीय, निन्दनीय र खेदजनक छ, प्रसाईंको पक्राउबाट सरकारले फरक विचारलाई दबाउने, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने, अप्रजातान्त्रिक र तानाशाही प्रवृत्ति प्रदर्शन गरेको छ । प्रसाईंलाई अविलम्ब र बिना शर्त रिहा गर्न राप्रपा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।’
प्रसाईंले यही मंसिर ७ गते देशभर आन्दोलन गर्ने बताउँदै आएका थिए । सोही अनुसार तयारी पनि तीव्र पारेका थिए । तर त्यसअघि नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले प्रसाईंलाई पक्राउ गरेको हो ।
उनले सार्वजनिक शान्तिमा खलल पुग्ने गरी अभिव्यक्ति दिएको प्रहरीले बताएको छ ।