आइतवार, श्रावण २४ गते २०८३

बाराको सिमरा बजार क्षेत्रमा कर्फ्यू उल्लङ्घन गर्दै युवाहरूले प्रदर्शन गरे

बुधवार , मंसिर ३, २०८२

काठमाडौं । स्थानीय प्रशासनले लगाएको कर्फ्यू आदेश उल्लङ्घन गर्दै युवाहरूले बाराको सिमरामा प्रदर्शन गरेका छन् ।

नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको तनावपछि उत्पन्न हुन सक्ने जोखिम मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यू आदेश जारी गरेको छ । तर, सिमराको मुख्य बजार क्षेत्रमै ठूलो संख्यामा उपस्थित भएर युवाहरू नारावाजीसहित प्रदर्शन गरिरहेका छन् । सुरक्षाकर्मीहरूले माइकिङ गर्दै युवाहरूलाई आआफ्ना घर फर्कन भनिरहेका छन् ।

स्थानीय प्रशासनले गण्डक नहरदेखि पथलैया सडकखण्डको दायाँ–बायाँ ५०० मिटर र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म बुधबार दिउँसो १२ः३० बजेदेखि राति ८ बजेसम्म कुनै पनि प्रकारको भेला, जुलस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका कार्यक्रम गर्न प्रतिबन्ध लगाएको छ । बुधबार बिहानै बाराको मुख्य बजार क्षेत्रमा एमाले कार्यकर्ताले जेनजी अगुवा सम्राट उपाध्ययमाथि हातपात गरेपछि सुरु भएको झडपले विमानस्थल क्षेत्र तनावग्रस्त बनेको थियो ।

एमालेले बाराको परवानीपुरमा बुधबार मधेश प्रदेशस्तरीय युवा भेला आयोजना गरेको थियो । त्यसलाई सम्बोधन गर्दै काठमाडौंबाट एमाले उपाध्यक्ष शंकर पोखरेल, पोलिट्ब्युरो सदस्य महेश बस्नेतलगायतका नेता सिमरा जाने भएका थिए । सो कार्यक्रमलाई लक्षित गर्दै जेनजी अगुवा उपाध्यायले मंगलबार बेलुकी सामाजिक सञ्जालमार्फत् एमालेको कार्यक्रम असफल पार्ने गरी शान्तिपूर्ण विरोध प्रदर्शनको आह्वान गरेका थिए ।

सोही विषयलाई लिएर बुधबार बिहान सिमरा चोकमा एमाले नेता–कार्यकर्ताले उपाध्यायमाथि हातपात गरेका थिए । त्यस पछि आक्रोशित युवाहरू एमाले नेताहरूलाई पछ्याउँदै विमानस्थल  पुगेपछि तनावको अवस्था उत्पन्न भएको थियो । काठमाडौंबाट जान लागेका एमाले महासचिव पोखरेल, पोलिट्ब्युरो सदस्य बस्नेत लगायतलाई स्वागत गर्न बाराका एमाले नेताहरू तथा पूर्वसांसदहरू अच्युत मैनाली, किशान श्रेष्ठ, ज्वाला साह लगायत विमानस्थल पुगेका थिए ।

नेताहरू विमानस्थल भित्र पसेका बेला जेनजी युवाहरूले विमानस्थलको मुख्यगेट ढालिदिएका थिए । उनीहरूले विमानस्थलभित्र ढुंगा तथा सिसाका बोतल प्रहार गर्दै निरन्तर नारावाजी गरेपछि प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको थियो । त्यसक्रममा प्रहरी र जेनजी युवाबीच झडप भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार