काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाराले सिमरा विमानस्थल आसपास आज पनि कर्फ्यु आदेश जारी गरेको छ ।
बुधबार जेनजी प्रदर्शनकारीलाई कुटपिट गर्नेमाथि कारबाहीको माग गर्दै आज बिहीबार पनि जेनजीले प्रदर्शन जारी राखेपछि थप जनधनको क्षति हुन नदिन कर्फ्यु आदेश जारी गरिएको प्रशासनले जनाएको छ । प्रशासनले आज दिउँसो १ बजेदेखि साँझ ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रद्वारा जारी आदेशअनुसार कुनै पनि व्यक्ति तोकिएको क्षेत्रभित्र आवतजावत गर्न, भेला वा जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न पाउने छैनन् ।
विरगञ्ज–पथलैया सडक खण्डको पथलैया चोक दक्षिणदेखि जितपुर लल्का पुलसम्म राजमार्गको दायाँबायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको ५ सय मिटर वरपर कर्फ्यु आदेश लागू हुनेछ । सिमरा चोकमा अहिले जेनजीले प्रदर्शन जारी राखेका छ्न् । आजै केहीबेरअघि प्रदर्शनकारी र प्रहरीबीच पनि झडप भएको थियो । सडक अवरुद्ध गरेर प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।
बुधबार एमालेको कार्यक्रममा महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेत आउने थाहा पाएपछि उनीहरूको विरोधमा जेनजीले प्रदर्शन गरेका थिए । उनीहरूको विरोध प्रदर्शनपछि दुवै नेताहरू काठमाडौंबाट सिमरा जान सकेनन् । जेनजीले विमानस्थलको गेट पनि तोडफोड गरेका थिए । त्यसै क्रममा स्थानीय एमाले कार्यकर्ताले जेनजी प्रदर्शनकारीमाथि हातपात गरेका थिए ।
यसै घटनामा संलग्न भएको आरोपमा एमालेबाट निर्वाचित जितपुर सिमरा उपमहानगरपालिकाका दुई जना वडा अध्यक्षलाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष कैमद्विन अंसारी छन् । उनीहरूविरुद्ध कुटपिटको आरोपमा स्थानीय जेनजी सम्राट भनिने साइकुस उपाध्यायले इलाका प्रहरी कार्यालय सिमरामा बुधबार नै जाहेरी दिएका थिए ।
जाहेरीपछि श्रेष्ठ र अन्सारीलाई पक्राउ गरिएको र अन्यको खोजी भइरहेको बाराका प्रहरीले जानकारी दिएका थिए । दुवै वडा अध्यक्ष एमालेबाट उम्मेदवार बनेर निर्वाचित भएका हुन् । घटनामा संलग्नलाई पक्राउ नगरे आन्दोलन गर्ने चेतावनी दिएका जेनजीहरू बिहीबार बिहानैदेखि आन्दोलनमा उत्रिएका छन् ।
बुधबार नेकपा एमालेको युवा संघको राष्ट्रिय जागरण कार्यक्रमको विरोधमा जेनजीहरू बिहानैदेखि प्रदर्शनमा उत्रिएका थिए ।