काठमाडौं । विपद् उद्दारमा खटिएका सशस्त्र प्रहरीका कर्मचारीको मृत्यु भएमा एक तह बढुवासहित निवृत्तिभरण (पेन्सन) दिइने भएको छ ।
मंगलबारको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी नियमावलीको चौथो संशोधन गरेसँगै यो व्यवस्था सुरु भएको हो । यो निर्णयसँगै अब विपद्मा खटिएका सशस्त्र प्रहरीको मृत्यु भएमा एक तह बढुवा हुनुका साथै उनको परिवारले पारिवारिक निवृत्तिभरण पाउने भएका छन् ।
यसअघि सशस्त्रको नियमावलीमो नियम ७६ को उपनियम २ मा कुनै प्रकारको मुठभेड वा आक्रमण वा बिस्फोट तथा हतियारधारी समूह वा त्यस्तै अन्य समूहविरुद्धको कारबाहीमा तत्काल वा सोही कारणले मृत्यु भएमा मात्रै यस्तो सुविधा दिने उल्लेख थियो ।
अबदेखि योसँगै विपद्मा खटिएका बेला मृत्यु भए पनि बढुवासहित निवृत्तीभरण पाउने भएका हुन् ।