काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नेतृत्वमा सर्वोच्च अदालतको उच्चस्तरीय टोली दुई दिनपछि भारत भ्रमणमा जाँदैछ ।
भूषण रामकृष्ण गवाईको अवकाशपछि नवनियुक्त प्रधानन्यायाधीश सूर्यकान्त शर्माको शपथ ग्रहण समारोहमा भाग लिन टोली शनिबार भारतको नयाँ दिल्ली जान लागेको हो । प्रधानन्यायाधीश राउत नेतृत्वको टोलीमा सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, मुख्य रजिष्ट्रार विमल पौड्याल लगायतहरू छन् ।
सरकारले मंगलबार मात्रै मन्त्रिपरिषद् बैठकबाट उद्योगमन्त्री अनिलकुमार सिन्हालाई भारत भ्रमणको अनुमति दिएको छ । मन्त्रिपरिषद्ंबाट स्वीकृत कार्यक्रम अनुसार उनी ८ मंसिरमा राष्ट्रपति भवनमा हुने नवनियुक्त प्रधानन्यायाधीशको शपथ ग्रहण कार्यक्रममा भाग लिनेछन् र पर्सिपल्ट अर्थात् १० मंसिरमा सर्वोच्च अदालतमा आयोजना हुने संविधान दिवसको कार्यक्रममा सहभागी हुनेछन् । सिन्हा सर्वोच्च अदालतको संवैधानिक इजलासमा समेत बसेर अवकाश भएका न्यायाधीश समेत हुन् ।
तीन साता अघिमात्रै प्रधानन्यायाधीश राउत, बरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीश विनोद शर्मा लगायतको टोलीले बंगलादेशको भ्रमण गरेको थियो । उक्त कार्यक्रममा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल समेत सहभागी हुँदैछिन् । नेपालको संविधानमा प्रधानन्यायाधीशको अनुपस्थितिमा वरिष्ठतम न्यायाधीश कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा हुने व्यवस्था छ ।
अघिल्लो पटक प्रधानन्यायाधीश राउत, बरिष्ठतम न्यायाधीश मल्ल विदेश भ्रमणमा गएका बेला उनीपछिका बरिष्ठतम न्यायाधीश कुमार रेग्मी समेत चीनको एक कार्यक्रममा सहभागी भएपछि न्यायाधीश हरि फुयालले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए ।
सर्वोच्च अदालत सम्बद्ध स्रोतका अनुसार, अहिले पनि त्यही अवस्था आउँदैछ । न्यायाधीश कुमार रेग्मी एक नातेदारको निधनका कारण गृहजिल्ला जाने तयारीमा छन् । अहिले सर्वोच्च अदालत विषम परिस्थितिमा छ । जेन–जी आन्दोलनपछिको आगजनी र तोडफोडका कारण अदालतका अधिकांश कागजात जलेका छन् ।
चौतर्फी सक्रियतापछि बल्लतल्ल केही इजलासहरूको व्यवस्थापन भएको छ, मुद्दाका जलेका कागजातहरू संकलन हुन बाँकी छन् ।