आइतवार, श्रावण २४ गते २०८३

सुर्खेतस्थित वीरेन्द्रनगरमा एमालेका नेता बस्नेतविरुद्ध युवाहरूको प्रदर्शन

मंगलवार , मंसिर ९, २०८२

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध युवाहरूले प्रदर्शन गरेका छन् ।

पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघको जागरण अभियानमा सहभागी हुन मङ्गलबार वीरेन्द्रनगर पुगेका बस्नेतविरुद्ध युवाहरूले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूले ‘छेडेर कलिला छाती, फेरि टेक्लास् हामी माथि !, अरेस्ट महेश बस्नेत, गुण्डुको गुन्डा मुर्दावाद’ जस्ता नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए । वीरेन्द्रनगर–८, स्थित जिल्ला समन्वय समितिको हलमा युवा संघको कार्यक्रम चलिरहेको छ भने सोही अगाडी रहेको वीरेन्द्रनगर नगरपालिका अगाडि युवाहरूले नाराबाजी गरिरहेका छन् ।

बस्नेले पछिल्लो समय देशैभर भड्काउ अभिव्यक्ति दिँदै हिँडेको, जेनजी आन्दोलन र अभियानका विरुद्ध लागेको, गुण्डागर्दी शैलीमा युवाहरूमा त्रास फैल्याउने काम गरेकाले उनलाई सुर्खेतमा निषेध गर्न प्रदर्शन गरिएको स्रोतले जनाएको छ । स्रोतले भन्यो, ‘महेश बस्नेतले बोल्न पाउने, सभा गर्न पाउने अधिकार संविधानले नै सुनिश्चित गरेको छ, तर भड्काउ अभिव्यक्ति दिने, गुन्डागर्दी मच्चाउने अधिकार छैन् । त्यसकै विरुद्ध हाम्रो नाराबाजी हो ।’

एमालेले पनि युवाको ठुलो समूह भेला गराएको छ । महेश बस्नेत सुर्खेत आएसँगै वीरेन्द्रनगरमा सुरक्षा व्यवस्था निकै कडा गरिएको छ । युवाहरूले शान्तिपूर्ण प्रदर्शन गरिरहेको र अहिलेसम्म कुनै पनि अप्रिय घटना नघटेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहन बुढथापाले जानकारी दिएका छन् । उनले भने, ‘अहिलेसम्म शान्तिपूर्ण प्रर्दशन भइहरेको छ । त्यस्तो कुनै अप्रिय घटना हुन नदिन हामीले बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरेका छौँ ।’

युवा संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न नेता बस्नेतसहित एमाले उपमहासचिव प्रदीप ज्ञवाली, युवा संघका अध्यक्ष क्षितिज थेबे लगायतका नेताहरू आज बिहान मात्रै सुर्खेत पुगेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार