काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको खेलमा काठमाडौं गोर्खाजले लुम्बिनी लायन्ससामू १५८ रनको लक्ष्य दिएको छ ।
स्लग ओभरमा ब्याटिङमा उत्रिएका कप्तान करन केसीले शानदार ‘फिनिसिङ’ गरेपछि लुम्बिनीलाई काठमाडौंले चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंका लागि इनिङको सुरुवात देखि नै कोही पनि ब्याटर लयमा देखिएनन् । उसका लागि आकाश त्रिपाठीले सर्वाधिक ३२ रन बनाए । यस्तै सन्तोष यादवले २६, मिलिन्द कुमार र जेरार्ड एरासमसले १७–१७ रन बनाए ।
अन्तिममा आएका कप्तान करनले ११ बलमा एक चौका र चार छक्काको मदतले ३४ रनको योगदान दिए । उनले रुबेन ट्रम्पलम्यानको एकै ओभरमा ३१ रन बटुलेका थिए । करनको यही पारीको मदतले काठमाडौंको स्कोर निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रन बनाएको हो ।
रुबेन ट्रम्पलम्यान, शेर मल्ल, कप्तान रोहित पौडेल र गुलबदिन नैबले समान २–२ विकेट लिएका थिए ।