काठमाडौँ । नेकपा एमाले ११ औँ महाधिवेशनको अन्तिम चरणमा पुगेको छ ।
एमालेको ११ औँ महाधिवेशन मंसिरमा काठमाडौँमा हुने भएको छ । जेन–जी आन्दोलनपछि युवाहरूको मुद्दा सम्बोधनका लागि नेतृत्व पुनर्गठनको दबाब परिरहेको अवस्थामा एमालेको ११ औँ महाधिवेशन रोचक हुने देखिएको छ ।
पूर्वराष्ट्रपति विद्या भण्डारीले एमालेको भावि अध्यक्षका लागि ईश्वर पोखरेललाई मैदानमा उतारेकी छन् । विद्या भण्डारीको योजना अनुसार नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले आगामी ११ औं महाधिवेशनमा पार्टी अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । ११ औँ महाधिवेशनबाट नेकपा एमालेको अध्यक्ष बन्ने विद्याको सपना थियो ।
त्यसैले उनले पार्टी सदस्यता नविकरणका लागि निवेदन दिएकी थिइन । तर, विद्याको बाटोमा ओली बाधक बने । ओलीले पार्टी सदस्यता नविकरण नगरेपछि विद्याले अर्को बाटो समातेकी हुन् । आफ्नो पक्षमा उभिने ईश्वर पोखरेललाई उनले एमालेको अध्यक्षका लागि उठाएकी छन् ।
यता एमालेको एक समुह बहालवाला अध्यक्ष केपी शर्मा ओलीलाई पुन सर्वसम्मत अध्यक्ष बनाउने तयारी गरिरहेको छ । तर, पोखरेलको पनि उम्मेदवारी परेकाले अब अध्यक्षका लागि ओली र पोखरेलबीच भिडन्त हुनेछ ।
२०७१ सालमा भएको नबौँ महाधिवेशनमा माधव कुमार नेपाललाई पराजित गर्दै पहिलो पटक ओली एमालेको अध्यक्ष बनेका थिए । त्यसपछि उनले २०७८ सालमा एमालेको दशौँ महाधिवेशनमा भिम रावललाई पराजित गर्दै दोस्रो कार्यकालका लागि अध्यक्ष बन्न सफल भए । अब तेस्रो कार्यकालका लागि पनि मंसिरमा हुने ११ औँ महाधिवेशनबाट अध्यक्ष बन्ने ओलीको दाउ हो ।
तर, विद्या भण्डारीको ईश्वर अस्त्रले ओलीलाई पराजित गर्न सक्छ ? या सक्दैँन ? यसका लागि मंसिरसम्म प्रतिक्षा गर्नु पर्नेछ । ओलीलाई अध्यक्षमा ईश्वर पोखरेलसँग पराजित गराएर एमालेमा आफ्नो ढोका खुला गर्ने विद्याको सपना हो । अब त्यो सपना ईश्वर पोखरेलको हातमा छ ।