आइतवार, श्रावण २४ गते २०८३

रोकिएन सुदूरपश्चिमको रफ्तार लगातार चौथो जित, लुम्बिनीको तेस्रो हार

बिहिवार , मंसिर ११, २०८२

काठमाडौं । विनोद भण्डारीले अर्धशतक बनाएपछि सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार लुम्बिनी लायन्सलाई पराजित गर्दै लगातार चौथो जित हात पारेको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले पराजित गरेको हो । लुम्बिनीले दिएको १४४ रनको लक्ष्य सुदुरपश्चिमले १८.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । लगातार चार जितपछि ८ अंक जोडेर शीर्ष स्थानमा रहेको सुदूरपश्चिम प्लेअफ नजिक समेत पुगेको छ ।

सुदूरपश्चिमले अब बाँकी ३ मध्ये १ खेल जितेमा पनि प्लेअफ पुग्नेछ । सुदूरपश्चिमका लागि विकेटकिपर विनोदले अविजति ६९ रन बनाएका छन् । उनले ४९ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरेका थिए । यस सिजन भण्डारीको यो पहिलो अर्धशतक हो । यस्तै आरिफ शेखले ३७ बलमा ४ चौका र एक छक्काको मदतमा ३९ रन बनाएका छन् । क्रिस लिनले १९ रनको योगदान गरे भने जोश ब्राउन ९ रनमा आउट भए ।

उता पहिलो खेलमै जित हात पार्दै सानदार सुरुवात गरेको लुम्बिनीको यो लगातार तेस्रो हार हो । ४ खेलबाट जम्मा २ अंक मात्र रहेको लुम्बिनीको प्लेअफ सम्भावना भने झिनो बनेको छ ।

बलिङमा लुम्बिनीका रुबेन ट्रम्पलम्यान, अभिशेष गौतम र तिलक भण्डारीले समान एक–एक विकेट लिएका छन् ।

आजै दोस्रो खेलमा पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स भिड्नेछन् । यो खेल साँझ ४ बजे सुरु हुनेछ । साविक विजेता जनकपुर र पोखरा तेस्रो खेलमा पहिलो जितको खोजीमा छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार