काठमाडौं । सुमित बर्माको अर्धशतकको सहयोगमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई १५६ रनको लक्ष्य दिएको छ ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा बिहीबार टस जितेर ब्याटिङ गरेको पोखराले ६ विकेटको क्षतिमा १५५ रन बनाएको हो । जनकपुरविरुद्ध राम्रो सुरुवात गरेको पोखराको मध्यक्रमका ब्याटर क्रिजमा टिक्न नसक्दा जनकपुरविरुद्ध विशाल योगफल तयार पार्न असफल बन्यो ।
पोखरा एक समय ८.३ ओभरमा एक विकेटको क्षतिमा ६१ रनको अवस्थामा थियो । पोखराले चार रन बनाउन चार विकेट गुमाएको थियो । तृतराज दास २९ रन बनाउँदा रनआउट भए । सुमित बर्मा ५० र किरण ठगुन्ना एक रनमा अविजित रहे । सुमितले २८ बलमा दुई चौका र चार छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे ।
पोखराका ओपनर दिनेश खरेल ३८ बलमा दुई चौका र तीन छक्का प्रहार गर्दा ३८ रनमा अनिल शाहको बलमा माज सदाकतको हातबाट क्याच आउट हुन पुगे । अर्का ओपनर आडम रसिङटोन २४ रन बनाउँदा सञ्जय कृष्णमूर्तिको बलमा जान निकोन लफ्टी इटोनको हातबाट क्याच आउट भए । डान डाउथवेट सात रन थप्दै आउट भए । कप्तान कुशल भुर्तेल गोल्डेन डकआउट भए । जिम्मी निसम एक रनमा आउट भए ।
जनकपुरका लागि सञ्जय कृणमूर्तिले तीन विकेट लिए । उनले आफ्नो स्पेलमा २१ रन खर्चे । अनिल साह र ललित राजवंशीले एक–एक विकेट लिए । जनकपुरले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।