काठमाडौं । प्रियांक पान्चलको अर्धशतक मद्दतमा कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सलाई १६१ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बिहीबार भइरहेको डे–नाइट म्याचमा टस जितेर पहिले ब्याटिङ रोजेको कर्णालीले ३ विकेट गुमाएर १६० रन बनाएको हो । ओपनर पान्चलले ४७ बल खेल्दै ६ चौका र २ छक्काको मदतमा सर्वाधिक ६३ रन बनाएका हुन् । उनको यस सिजन यो दोस्रो अर्धशतक हो ।
पहिलो खेलमा उनले चितवनविरुद्ध अर्धशतक प्रहार गरेका थिए । यस्तै अष्ट्रेलियन खेलाडी विलियम बोसिस्टोले अविजित ४८ रनको योगदान दिएका छन् । बोसिस्टोले ४८ बल खेल्दा २ चौका प्रहार गरेका हुन् । गुल्सन झाले २० रन जोडेका छन् । नजिबुल्लाह जद्रान १० रनमा अविजित रहेका छन् । मार्क वाट भने ६ रनमा आउट भएका थिए ।
बलिङमा विराटनगरका मर्चेन्ट डे लाङ र कप्तान सन्दीप लामिछानेले एक–एक विकेट लिएका छन् । अहिले विराटनगरले जवाफी ब्याटिङ गर्दै छ ।