काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पनि दुई खेल हुने भएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा ११ बजेर ४५ मा हुने पहिलो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्ने छन् ।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी चारमध्ये एक र कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले तीन खेलबाट एक खेल नै जितेको छ । लुम्बिनी अङ्क तालिकाको सातौँ र पोखरा छैटौँ स्थानमा छ । प्लेअफको सम्भावना जीवितै राख्न दुवै टोलीलाई यो खेल जित्नुपर्ने अवस्था छ ।
त्यस्तै आजै हुने अर्को खेलमा साविक विजेता जनकपुर बोल्ट्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स खेल्नेछन् । उक्त खेल अपराह्न ४ सुरु हुनेछ । तीन खेल खेलेर अकंविहीन अवस्थामा रहेको जनकपुर आज जित निकाल्दै खाता खोल्ने लक्ष्यमा छ । यता अपराजित रहेको सुदूरपश्चिम आजको खेल जितेर प्लेअफमा स्थान सुरक्षित गर्न चाहन्छ । यसका साथै गत संस्करणको फाइनलमा जनकपुरसँग हारेको बदला समेत लिने दाउमा सुदूरपश्चिम रहनेछ ।