काठमाडौं। नेपालीहरू वैधानिक तरिकाले कतार प्रहरीमा भर्ना हुने प्रक्रियाले छिट्टै गति लिने भएको छ। उचाई ५ फिट ७ इन्च र उमेर १८ देखि ३५ वर्ष समूहका नेपाली पुरुष कतार प्रहरीमा भर्ना हुन सक्ने छन्।
उनीहरुले हतियार बोक्नु पर्ने छैन। कतार प्रहरी भनेपनि नेपालीले कतारको कोर पुलिस फोर्सको जिम्मेवारीमा काम नगरी सहायक फोर्समा काम गर्ने बताएइको छ। कतारले आफ्नो प्रहरीको सहयोगका लागि लैजान नेपालीलाई शुरुमा करारका माध्यमबाट तीन वर्षका लागि भर्ना गर्ने र पछि कार्य दक्षताका आधारमा करार अवधि बढाउन खोजेको बताइएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गतहप्ता कतारको दोहास्थित नेपाली दूतावासलाई नेपाल र कतारबीच सन् २००५ मा भएको श्रम सझौताको परिधिभित्र रहेर कतार प्रहरीका लागि मागपत्र प्रमाणीकरण गर्न अनुमति दिएको छ।
सन् २००५ को नेपाल र कतारबीचको द्विपक्षीय श्रम सम्झौतामा नेपाली नागरिकलाई नेपालका निजी क्षेत्रबाट पठाउने उल्लेख छ। यसले कतार प्रहरीमा पठाउने काममा निजी क्षेत्रका म्यानपावर कम्पनीहरुले जिम्मा पाउने देखिएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट सन् २००५ को नेपाल–कतारबीचको श्रम सम्झौताको मापदण्डभित्र रहेर मागपत्र प्रमाणीकरण गर्न अनुमति दिएपछि अहिले कतार प्रहरीमा नेपाली पठाउने विषय निर्णायक मोड लिएको हो।