आइतवार, श्रावण २४ गते २०८३

जितसँगै काठमाडौँ ‘प्लेअफ’ नजिक, कर्णालीको चौथो हार

आइतवार , मंसिर १४, २०८२

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सलाई हराउँदै काठमाडौँ गोर्खाज ‘प्लेअफ’ नजिक पुगेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा  आइतबार कर्णालीलाई हराएसँगै काठमाडौँ अंक तालिको दोस्रो स्थानमा उक्लिएको छ। काठमाडौँको आठ अंक भएको छ भने शीर्षस्थानमा रहेको सुदूरपश्चिम रोयल्सको १० अंक छ। 

यो हारसँगै कर्णालीको ‘प्लेअफ’ यात्रा कठिन भएको छ। कर्णालीले लगातार तेस्रो हार ब्यहोरेको छ। अहिलेसम्म खेलका पाँच खेलमा चौथो हार हो। एक खेल मात्रै जितेको कर्णालीको दुई अंक छ। 

आइतबार भएको खेलमा काठमाडौले कर्णालीलाई पाँच विकेटले पराजित गरेको हो। अब लिग चरणको आफ्नो अन्तिम खेलमा काठमाडौँले बिहीबार पोखरा एभेन्जर्ससँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेल जितेमा ‘प्लेअफ’ सुनिश्चित हुनेछ भने हारेमा अन्य टोलीको नजितामा भर पर्नुपर्नेछ। 

आइतबार कर्णालीले दिएको एक सय ५० रनको लक्ष्य काठमाडौँले १८ ओभरमा पाँच विकेटको क्षतिमा भेट्टायो। चौथो विकेटका लागि जेरहार्ड इरसमस र जोन सिमसनले ८६ रनको साझेदारी गरेपछि काठमाडौँले सहजै लक्ष्य भेट्टाएको हो। 

जोन सिमसनले २१ बलमा चार चौका र दुई छक्काको सहयोगमा ४१ रन बनाउँदा नन्दन यादवको बलमा गुल्सन झाको हातबाट क्याच आउट भए। जेरहार्ड ४३ रनमा नटआउट रहे। उनले ३३ बलमा दुई चौका र दुई छक्का प्रहार गरे। 

त्यस्तै, भीम सार्की ६ रनमा नटआउट रहे। रसिद खान शून्यमा आउट भए। २१ बलमा दुई चौका र तीन छक्काको सहयोगमा ३४ रन बनाएका वेन चार्ल्सवर्थ पवन सर्राफको बलमा बोल्ड आउट भए। मिलिन्द कुमार १५ रनमा रनआउट हुन पुगे। आकाश त्रिपाठी आठ रन बनाउँदा क्याच आउट भए। 

कर्णालीका लागि नन्दन यादवले तीन विकेट लिए। पवन सर्राफले एक विकेट आफ्नो नाममा गरे।   त्यसअघि टस जितेर ब्याटिङ गरेको कर्णालीले सात विकेटको क्षतिमा एक सय ४९ रनको योगफल तयार पारेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार