काठमाडौँँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा सोमबार कुनै खेल छैन । लगातारको खेलपछि सोमबार खेलाडीलाई विश्राम दिइएको हो। आइतबार भएको १९ औं खेलमा काठमाडौँँ गुर्खाजले कर्णाली याक्सलाई ५ विकेटले हराएसँगै अंक तालिका भने रोचक बनेको छ।
अंक तालिकामा अपराजित सुदूरपश्चिम १० अंकसहित प्लेअफमा पुगिसकेको छ। एउटा खेल मात्र खेल्न बाँकी रहेको काठमाडौँँले २ खेल गुमाएर ८ अंक बनाएको छ। ५ खेलमा एक खेल गुमाएको विराटनगरको समेत समान ८ अंक रहेको छ।
रनरेटका आधारमा काठमाडौँँ दोस्रो स्थानमा उक्लिएको छ भने विराटनगर तेस्रोमा छ। चितवन र लुम्बिनीको समान ४ अंक छ। लुम्बिनीले ५ खेल खेलिसकेको छ भने चितवनले ४ खेल मात्र खेलेको छ। रनरेटका आधारमा चितवन चौथो स्थानमा छ भने लुम्बिनी पाँचौं स्थानमा छ। कर्णाली र पोखराको दुईदुई अंक छ। तालिकामा कर्णाली छैटौं र पोखरा सातौं स्थानमा छन् भने पुछारमा रहेको जनकपुर अंकविहीन छ।
एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौँँ गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।