काठमाडौं। भदौ ८ गतेदेखि पार्टी कार्यालय सानेपामा नेपाली कांग्रेसका २२ जिल्ला सभापति उपस्थित भए। त्यसदिन उनीहरुले धर्ना दिए। उनीहरु वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षका जिल्ला सभापति थिए।
क्रियाशील सदस्यको नामावली सार्वजकि गर्नुपर्नेलगायत तीनबुँदे माग उनीहरुको थियो। तर सानेपामा जारी अनसन ५ दिनपछि शनिबार बेलुकी तोडिएको छ। उनीहरूले राखेका माग सम्बोधन गर्न पार्टी नेतृत्व तयार भएपछि आन्दोलन फिर्ता लिएका हुन्। क्रियाशील सदस्यता विवाद समाधान समितिका तर्फबाट पूर्व महामन्त्री कृष्ण सिटौला तथा सदस्यहरू डा.मिनेन्द्र रिजाल र रमेश लेखकले जुस खुवाएर अनसन तोडाएका हुन्। त्यसक्रममा सिटौला, रिजाल र लेखकलगायतका नेताहरू अनसन स्थल गएर सम्बोधन गरेका थिए। नेताहरूले नेतृत्वबीचको भएको सहमति पनि जिल्ला सभापतिलाई जानकारी गराएका थिए।
नुवाकोट जिल्ला सभापति जगदिश्वरनरसिंह केसीले कार्यदलका सदस्यहरूले विधिसम्मत आएका क्रियाशील सदस्यहरूको नाम छुटेको भए फेरी नामावलीमा समावेश गर्ने प्रतिबद्धता जनाएपछि अनसन तोडिएको बताए। केसीले मुद्दाका विषयमा सहमति भइसकेपछि अनसन तोड्दै सबैले महाधिवेशनको तयारीमा जुट्न आह्वान गरिएको पनि बताए।
सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको वार्तामा ती माग पूरा गर्ने सहमति बनेको थियो। बुधबार बिहान ११ बजेदेखि बिहीबार बिहान ११ बजेसम्म नुवाकोट सभापति केसी, काभ्रे सभापति मधु आचार्य र धादिङ सभापति रमेश धमला रिले अनशन बसेका थिए। उनीहरूलाई नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्ण र नेता डिल्लीराम सुवेदीले साथ दिएका थिए।
बिहीबार बिहान ११ बजेदेखि शुक्रबार बिहान ११ बजेसम्म सिन्धुपाल्चोकका सभापति विकास लामा, तनहुँका सभापति बैकुण्ठ न्यौपाने, सुर्खेतका सभापति कमल रेग्मी २४ घण्टे रिले अनशनमा बसेका थिए।
उनीहरूलाई भातृ संगठन नेपाल विद्यार्थी संघ ९नेविसंघ०का नेताहरू मनोजमणि आचार्य र प्रमोदहरि गुरागाईँले साथ दिएका थिए। शुक्रबार बिहान ११ बजेदेखि साँझसम्म उदयपुरका सभापति विदुर बस्नेत, संखुवासभाका सभापति दिपन श्रेष्ठ र काठमाडौंका सभापति कृष्ण सबुज बानियाँ रिले अनशनमा बसेका थिए।