काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपको उपाधि जित्न नेपालले १४८ रनको लक्ष्य पाएको छ ।
फाइनल खेलमा नेपालको घातक बलिङसामु निरीह बनेको आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) ४५.५ ओभरमा १४७ रनमै अलआउट भएको छ । नेपाललाई सस्तैमा समेट्न स्पिनर दयानन्द मण्डल एक्लैले ६ विकेट लिएर यूएईको ब्याटिङ लाइनअप ध्वस्त पारेका छन् । अजमानस्थित कर्वन क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले सुरुवातदेखि नै घरेलु टोलीलाई दबाबमा राख्यो । इनिङको पहिलो ओभरको पहिलो बलमै दयानन्द मण्डलले यूएईका कप्तान ययीन राईलाई आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।
त्यसपछि यूएईका ब्याटरहरू क्रिजमा टिक्नै सकेनन् । जैनुल्लाह रहमानी (२), आयान मिसबाह (११) र मोहम्मद रायन खान (०) लाई गुमाउँदा यूएईको स्कोर ६.५ ओभरमा जम्मा २० रन थियो र ४ विकेट गुमिसकेको थियो । पृथ्वी मधु (४) पनि सस्तैमा आउट भएपछि ४४ रनमा ५ विकेट गुमाएर यूएई दयनीय स्थितिमा पुगेको थियो । एकतर्फी जस्तै देखिएको खेलमा यूएईका लागि अहमद खुदादादले एक छेउबाट इनिङ सम्हाले । उनले १२६ बलको सामना गर्दै ६ चौकाको मद्दतमा सर्वाधिक ७१ रनको अर्धशतकीय पारी खेलेका हुन् । उनलाई नुरउल्लाह अयोबीले राम्रो साथ दिए । अयोबीले २६ रन बनाए ।
छैठौं विकेटका लागि खुदादाद र अयोबीबीच ५६ रनको साझेदारी भएपछि यूएईले १०० रनको आँकडा पार गर्न सक्यो । तर, यो साझेदारी टुट्नासाथ यूएईको तल्लो क्रम पुनः धराशायी बन्यो । अन्तिममा सालेह अमिनले ५ र अली असगरले २ रन मात्र जोड्न सफल भए । नेपालको बलिङमा दयानन्द मण्डल नायक सावित भए । उनले ६.५ ओभर बलिङ गर्दै २ मेडन राखेर केवल १७ रन खर्चिदै ६ विकेट लिएका छन् ।
त्यस्तै, अर्का स्पिनर अपराजित पौडेलले १० ओभरमा ३९ रन दिएर २ विकेट लिएका छन् । कप्तान अशोक धामीले १० ओभरमा ४ मेडन राख्दै मात्र ९ रन दिएर १ विकेट लिए भने नितेश कुमार पटेलले १ विकेट हात पारेका छन् ।
अब उपाधि जित्नका लागि नेपालले ५० ओभरमा १४८ रन बनाउनुपर्नेछ । यो खेल जिते नेपाल एसीसी यू–१९ एसिया कपका लागि छनोट हुनेछ ।