काठमाडौं । एसिसी पुरुष यू–१९ प्रिमियर कपको फाइनलमा युएईसँग २७ रनले पराजित हुँदै नेपाल उपविजेतामा सीमित भएको छ । यद्यपी फाइनल पुगेर नेपाल एसिया कपमा छनोट भइसकेको छ ।
आज भएको उपाधि भिडन्तमा नेपालमाथि घरेलु टोली युएईले २७ रनको जित निकालेको छ । १४८ रनको लक्ष्य पछ्याएको नेपाल ३३.२ ओभरमा १२० रनमा अलआउट भएको हो । नेपालका लागि अशोक धामीले ३४ रन जोडे भने आशिस लुहार र रोशन विश्वकर्माले २५–२५ रन बनाउन सफल भएका छन् । अरु ब्याटर चल्न सकेनन् ।
युएईको अजमानस्थित करवान मैदानमा घरेलु टोली विरूद्धको फाइनल खेलमा नेपालले जितका लागि १४८ रनको लक्ष्य पाएको नेपालको खराब सुरुवात भएको थियो । नेपालले पहिले ब्याटिङ गरेको युएईलाई ४५.५ ओभरमा अल आउट गर्दै १४७ रनमा रोकेको थियो ।
युएईका लागि अहमद खुदादादले सर्वाधिक ७१ रन बनाएका थिए । उनले १२६ बलमा ६ चौका प्रहार गरेका थिए । त्यस्तै नूरउल्लाह अयोबीले ४७ बल खेल्दै २ चौका र २ छक्काको मद्दतबाट २६ रन जोडेका थिए । आयान मिसबानले ११ रन जोडेका थिए ।
नेपालका लागि दयानन्द मण्डलले ६ विकेट लिएका थिए । अप्रजित पौडेलले २ तथा नितेशकुमार पटेल र अशोक धामीले एक–एक विकेट लिएका थिए ।