काठमाडौँ । नेपाल प्रिमियर एनपीएलका लागि दक्षिण अफ्रिकी क्रिकेटर फाफ डु प्लेसिसस नेपाल आइपुगेका छन्।
उनी सोमबार अपराह्न काठमाडौँ आइपुगेका हुन् । एनपीएलको दोस्रो सिजनको लागि उनलाई विराटनगर किङ्सले अनुबन्ध गरेको छ।
उनलाई विमानस्थलमा नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी र विराटनगर किङ्सका प्रतिनिधिहरूले स्वागत गरेका थिए।
एनपीएल पहिलो सिजनबाटै आफूले पछ्याएको र हाल विराटनगर किङ्सले उत्कृष्ट प्रदर्शन गरिरहेको उनले टिप्पणी गरे । साथै, नेपाली दर्शक निकै उत्साही रहेको भन्दै उनीहरूका सामुन्ने प्रदर्शन गर्न व्यग्र रहेको बताए ।
फाफले यस्तो भने
लामो यात्रा गरेर भर्खर आइपुगेको छु । एकदम फ्रेस छु । स्वागतका लागि सबैलाई धन्यवाद छ । मसित धेरै छोटो समय छ । मैले सोसल मिडियामा देखेको छु, यहाँका फ्यानहरू एकदमै उत्साही छन् । नयाँ ठाउँमा अनुभव बटुल्दैछु । नयाँ संस्कृति देख्न पाउनेछु । सबैभन्दा महत्त्वपूर्ण भनेको उत्साही दर्शकको अगाडि प्रदर्शन गर्नु हो । अबका केही दिनका लागि म एकदमै आतुर छु ।
मैले गत वर्ष पनि एनपीएल अलिअलि हेरेको थिएँ । यसपालि धेरै म्याचहरू हेरेँ, खासगरि विराटनगर किङ्सको । मेरो टिमले एकदमै राम्रो गरिरहेको छ । ५ मा ४ वटा म्याच जितिसकेको छ । मेरो लागि नयाँ अनुभव हुनेछ । म कहिल्यै नआएको ठाउँमा आएको छु । यो मेरो लागि राम्रो अवसर हुनेछ । धेरै समय छैन । तर प्रभाव पार्न सक्छु भन्ने आशा छ ।
संसारभरका लिगका लागि चाहिने कुरा भनेको राम्रो फ्यान बेस हो । दर्शकको सपोर्ट चाहिन्छ । बाहिरबाट हेर्दा यहाँ रंगशालामा प्रत्येक खेल भरिभराउ हुन्छ । यो एकदम महत्त्वपूर्ण छ । फ्यानहरू भएमा खेलाडीलाई पनि खेल्न रमाइलो लाग्छ । म फ्यानहरूको अगाडि खेल्न रमाउँछु ।
हाम्रो टिमका खेलाडीले अहिले राम्रो गरिरहेका छन् । मसित धेरै महान् खेलाडीसँग खेलेको अनुभव छ । म आफ्नो अनुभवहरू सेयर गर्नेछु ।