आइतवार, श्रावण २४ गते २०८३

पाचौँ खेलमा जनकपुरको पहिलो जित, चितवन फेरि पराजित

मंगलवार , मंसिर १६, २०८२

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को पाचौँ खेलमा आएर पहिलो जित दर्ता गरेको छ ।

मंगलबार चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै जनकपुरले जारी सिजन पहिलो जितको स्वाद लिन पाएको हो । यो जितसँगै जनकपुरले अंक तालिकामा खाता खोलेको छ । जनकपुरले अब लिग चरणमा लुम्बिनी लायन्स र कर्णाली याक्ससँग खेल्न बाँकी छ । जनकपुरलाई अब प्ले अफ खेल्ने सम्भावनालाई कायम राख्न यी दुई टोलीलाई पराजित गर्नुपर्ने हुन्छ भने अन्य टोलीको नतिजामा समेत भर पर्नेछ ।

एनपीएलको पहिलो खेलमा जनकपुर काठमाडौं गोर्खाजसँग पाँच विकेटले पराजित भएको थियो । दोस्रो खेलमा विराटनगर किंग्ससँग नौ रनले तथा तेस्रो खेलमा पोखरा एभेन्जर्ससँग २५ रनले पराजित भएको थियो । लिग चरणको चौथो खेलमा सुदूरपश्चिम रोयल्ससँग जनकपुरले ६ विकेटको हार व्यहोरेको थियो ।

यता जनकपुरसँगको हारले चितवनलको प्लेअफ यात्रा केही कठिन भएको छ । जारी सिजन मिश्रित प्रदर्शन गरिरहेको चितवनले अब बलियो टोली सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्ससँग खेल्न बाँकी छ । चितवनलाई प्ले अफ खेल्ने सम्भावना कायम राख्न दुवै खेल जित्नुपर्नेछ । चितवनले लिग चरणमा तीन खेलमा हार र दुई खेलमा जित निकाल्दै अंक तालिकामा चार अंक जोडेको छ ।

चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई चार विकेटले हराउँदा लुम्बिनी लायन्ससँग ६ विकेटको हार व्यहोरेको थियो । तेस्रो खेलमा विराटनगरलाई ४८ रनले हराएको चितवनले काठमाडौंसँग भने ५३ रनले पराजित भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार