कनठमाडौं । माधव नेपाल समूहले कपिलवस्तुमा गठन गरेको समानान्तर कमिटीका अध्यक्ष तथा लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले एमालेमै रहने घोषणा गरेका छन्। नेपाल समूहमा लामो समय रहेका नेता पन्थीले कपिलवस्तुमा युवासंघको भेलालाई शनिबार सम्बोधन गर्दै पार्टी विभाजनमा कसैलाई साथ दिन नसकिने बताएका हुन्।
कपिलवस्तुमा युवासंघको भेलालाई सम्बोधन गर्दै पन्थीले माधव नेपालले पार्टी फुटाएर ठूलो भूल गरेको बताए। ‘पार्टीभित्रै रहेर अन्तरसंघर्षका लागि विगतमा साथ दिएका हौं, फुटेर एमालेको भलो हुँदैन,’ उनले भने। पन्थीले पार्टीभित्रको अन्तरसंघर्ष पार्टी फोड्न नभई पार्टी बलियो बनाउने उद्देश्यले गरिएको बताएका थिए।
लुम्बिनी प्रदेशसभामा माधव नेपाल समूहमा गनिदै आएका पन्थीले एमालेबाट छुटिएर नयाँ दल खुले पनि कपिलवस्तु र प्रदेशमा सामान्य प्रभावसमेत नपर्ने ठोकुवा गरे। पन्थीले अहिले जनतामा गठबन्धन सरकारले भ्रम फैलाई एमालेका कार्यकर्ता फकाउने काम सुरु गर्न लागेकोले युवाहरुले प्रतिकार गर्न निर्देशन दिएका थिए। नेपाल समूहले कपिलवस्तुमा गठन गरेको समानान्तर कमिटीको अध्यक्ष नै एमालेमै रहेपछि कपिलवस्तुमा माधव नेपाल समूह थप कमजोर भएको छ।