आइतवार, श्रावण २४ गते २०८३

एडमको शतकमा पोखराको जित, ‘प्लेअफ’बाट बाहिरियो कर्णाली

मंगलवार , मंसिर १६, २०८२

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा लगातार चौथो हार व्यहोर्दै कर्णाली याक्स प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। 

गत सिजन प्ले अफ खेलेको कर्णालीले एनपीएलमा लगातार चौथो हार व्यहोर्दै एक खेल अगावै प्लेअफ दौडबाट बाहिरिएको हो। मंगलबार भएको खेलमा पोखरा एभेन्जर्ससँग ३४ रनले पराजित भएपछि कर्णाली प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। 

यता कर्णालीलाई पराजित गरेसँगै पोखराको प्लेअफ सम्भावना कायमै छ। पोखराले अब चितवन राइनोज र काठमाडौ गोर्खाजसँग खेल्नेछ। 

मंगलबार पोखराले दिएको दुई सय दुई रनको विशाल लक्ष्य पछ्याएको कर्णाली ६ बल अगावै एक सय ६७ रन बनाउँदा अलआउट भयो।

कर्णालीका लागि ओपनर मार्क वाटले ५९ रनको सर्वाधिक योगदान दिए पनि टोलीको हार टार्न सकेनन्। नजिबुल्लाह जड्रानले २४, पवन सर्राफले १९ र प्रियांक पञ्चलले १६ रन थपे। 

कर्णालीलाई कम स्कोरमा रोक्न पोखराका ऋषी धवन र धनन्जय लक्षणले तीन–तीन विकेट लिए। किरण ठगुन्ना, सन्दीप क्षेत्री र कुशल भुर्तेलले समान एक विकेट झारे। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको पोखराले दुई विकेटको क्षतिमा दुई सय एक रनको योगफल तयार पारेको थियो। जारी सिजनमा दुई सय रन पूरा भएको यो दोस्रो खेल हो। 

एडम रोसिङटन एक सय आठ रनमा अविजित रहे। धनन्जय लक्षण २३ रनमा नटआउट रहे। रोसिङटनले ५८ बलमा ११ चौका र सात छक्का प्रहार गरे। 

उनले ५५ बलमा ११ चौका र ६ छक्काको सहयोगमा शतक पूरा गरेका थिए। जारी सिजन बनेको यो दोस्रो शतक हो। यसअघि कर्णालीका मार्क वाटले पहिलो शतक हानेका थिए। 

 

प्रतिक्रिया
सम्बन्धित समाचार