काठमाडौं । नेपाल प्रिमियर लिगको बिहीबारको पहिलो खेलमा काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सलाई जितका लागि १६६ रनको लक्ष्य दिएको छ ।
भीम सार्की र वेन चाल्सवर्थको अर्धशतक सहयोगमा काठमाडौं गोखार्जले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्ससामु जितका लागि १६६ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले टस जितेर फिल्डिङ रोजेको थियो। योसँगै ब्याटिङ गरेको काठमाडौले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६५ रनको योगफल तयार पार्यो ।
काठमाडौंका लागि ओपनर वेनले ६४ रनको सर्वाधिक योगदान दिएका छन् । ५४ बलमा ५ चौका र २ छक्का सहयोगमा ६४ रन बनाएका वेन विपिन खत्रीको बलमा धनन्जय लक्षणको हातबाट क्याच आउट हुन पुगे । वेनले ४८ बलमा ४ चौका र १ छक्का सहयोगमा अर्धशतक पूरा गरेका छन् । भीम सार्की ५५ रन बनाउँदा क्याच आउट भएका थिए । २३ बलमा ५ चौका ४ छक्का प्रहार गरेका धनन्जयको बलमा क्याच आउट भएका थिए । भिमले १९ बलमा ५ चौका ४ छक्का सहयोगमा अर्धशतक पूरा गरे । करण केसीले ४ रन बनाए । सन्नी पटेल २ रनमा अविजित रहे ।
मिलिन्द कुमारले १३ रन बनाउँदा कुशल भुर्तेलको बलमा विकेट किपरको हातबाट आउट हुन पुगेका थिए । आदिल आलम र रासिद खानले समान ७ रन बनाउँदै पेभेलियन फर्के । जोन सिमसन २ रन बनाउँदा कुशल भुर्तेलको बलमा कट एण्ड बोल्ड हुन पुगे । आकाश त्रिपाठी शुन्य रनमा नै धनन्जय लक्षणको बलमा बोल्ड आउट भए ।
पोखराका लागि धनन्जय लक्षणले सर्वाधिक ४ विकेट लिएका छन् । उनले आफ्नो स्पेलमा १ मेडन राख्दै १६ रन खर्चेका छन् । कुशल भुर्तेलले २ विकेट लिएका छन् । किरण ठगुन्नाले एक विकेट आफ्नो नाममा गरेका छन् ।
पोखराले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । काठमाडौंले आजको खेलमा जित निकाले प्लेअफमा स्थान पक्का गर्नेछ । पोखराको जितले काठमाडौंले अन्य खेलको नतिजा कुर्नुपर्नेछ ।
पोखरा आजको खेलमा पराजित भए प्लेअफ यात्रा थप कठिन बन्नेछ । जित निकाले प्लेअफ सम्भावना थप बलियो बनाउनेछ ।