आइतवार, श्रावण २४ गते २०८३

जितसँगै काठमाडौं ‘प्लेअफ’ मा, पोखरा १३ रनले पराजित

बिहिवार , मंसिर १८, २०८२

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल(मा पोखरा एभेन्जर्सलाई हराउँदै काठमाडौं गोर्खाज ‘प्लेअफ’मा पुगेको छ । 

भीम सार्की र बेन चार्ल्सवर्थको उत्कृष्ट ब्याटिङपछि बलरहरूले कसिलो प्रदर्शन गरेपछि काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्समाथि १३ रनको सानदार जित हात पारेको छ । यो सानदार जितसँगै काठमाडौं गोर्खाज प्रतियोगिताको ‘प्लेअफ’ मा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंले दिएको १६६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको पोखरा निर्धारित २० ओभरमा १५२ रनमा अलआउट भयो ।

लक्ष्य पछ्याउने क्रममा ५५ रनमै ४ विकेट गुमाएर दबाबमा परेको पोखरालाई ऋषि धवन र धनञ्जय लक्षणले खेलमा फर्काएका थिए । यी दुईबीच पाँचौँ विकेटका लागि ७६ रनको महत्त्वपूर्ण साझेदारी भएको थियो । ऋषि धवनले ३१ बलमा ३ चौका र २ छक्कासहित ५४ रनको अर्धशतकीय इनिङ खेले भने धनञ्जयले ३० रन बनाए । १६ ओभरमा १३१–४ को अवस्थामा रहेको पोखरा जिततर्फ अग्रसर देखिएको थियो ।

तर, १७औं ओभरको दोस्रो बलमा धनञ्जय आउट भएपछि पोखराको इनिङ धराशायी बन्यो । अन्तिम २१ रन जोड्दा पोखराले बाँकी ६ विकेट गुमायो । ओपनर कुशल भुर्तेलले २२ र जेसन रोयले १६ रन बनाए पनि अन्य ब्याटर चल्न सकेनन् ।

काठमाडौंलाई जिताउन स्पिनर शाहब आलमले एक्लै ६ विकेट लिएर पोखराको ब्याटिङ लाइन ध्वस्त पारे । उनले ४ ओभरमा २५ रन मात्र खर्चेर ६ महत्त्वपूर्ण विकेट लिए । यस्तै, करण केसी र सनी पटेलले २–२ विकेट लिएर जित सुनिश्चित गरे । यसअघि टस हारेर ब्याटिङ गरेको काठमाडौंले खराब सुरुवातका बाबजुद ८ विकेटको क्षतिमा १६५ रन बनाएको थियो । १३.३ ओभरमा ७९–५ को नाजुक अवस्थाबाट बेन चार्ल्सवर्थ र भीम सार्कीले टोलीलाई उकासेका थिए ।

भीम सार्कीले १९ बलमै अर्धशतक पूरा गर्दै २३ बलमा ५५ रन बनाए । ओपनर बेन चार्ल्सवर्थले ५५ बलमा ६४ रनको जिम्मेवारीपूर्ण इनिङ खेले। पोखराका धनञ्जय लक्षणले ४ विकेट र कुशल भुर्तेलले २ विकेट लिए पनि टोलीलाई जिताउन सकेनन् ।

यो जितपछि काठमाडौं गोर्खाजले अघिल्लो चरणको यात्रा पक्का गरेको छ भने पोखरा एभेन्जर्सका लागि आगामी यात्रा कठिन बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार