आइतवार, श्रावण २४ गते २०८३

एनपीएलको प्लेअफमा पुग्ने चौथो टोली बन्यो लुम्बिनी, जनकपुरसँगै बाहिरिए पोखरा र चितवन

शुक्रवार , मंसिर १९, २०८२

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबारको खेलमा जित निकालेसँगै लुम्बिनी लायन्स शीर्ष चारमा रहेर प्लेअफमा पुग्ने चौथो टोली बनेको छ।

लिगको आफ्नो अन्तिम खेलमा साविक विजेता जनकपुरलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले प्लेअफमा स्थान पक्का गरेको हो।

यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किंग्सले प्लेअफमा स्थान बनाएका थिए। यससँगै जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज बाहिरिएका छन्। कर्णाली याक्स यसअघि नै बाहिरिएको थियो।

सुदूरपश्चिमले शीर्ष स्थान पक्का गरिसकेको छ। अब शनिबार हुने सुदूरपश्चिम र विराटनगर किंग्सबीचको खेलले दोस्रो हुने टोलीको टुंगो लाग्नेछ। विराटनगरका लागि दोस्रो हुन ठूलो अन्तरको जित आवश्यक छ। विराटनगरले सानो अन्तरको जित वा पराजय भोगेमा काठमाडौँ दोस्रो हुनेछ। विराटनगर तेस्रो र लुम्बिनी चौथो हुनेछन्।

आज लुम्बिनीले जित हात पारेसँगै शनिबार हुने चितवन र पोखराबीचको दोस्रो खेल तथा आइतबार राति हुने कर्णाली याक्स र जनकपुरबीच हुने औपचारिकतामै सीमित हुने भएको छ। यी दुई खेलले प्लेअफमा कुनै अर्थ राख्नेछैन।

अंक तालिकाको शीर्ष दुई टोलीले मंगलबार पहिलो क्वालिफायर खेल्नेछन्। जित हात पार्ने टोली मंसिर २७ गते हुने फाइनलमा पुग्नेछ। हार्ने टोलीले दोस्रो क्वालिफायरमा पुगेर फाइनल पुग्ने अवसर प्राप्त गर्नेछ।

तेस्रो र चौथो हुने टोलीले बुधबार इलिमिनेटर खेल्नेछन्। इलिमिनेटरको विजेता टोली दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोली बाहिनेछ।

बिहीबार दोस्रो क्वालिफायर हुनेछ। जित हात पर्ने टोली फाइनल पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार