काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल पुग्नका लागि सुदूरपपश्चिम रोयल्सले विराटनगर किंग्ससामु १५६ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको पहिलो क्वालिफायरमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले सात विकेटको क्षतिमा एक सय ५५ रनको योगफल तयार पारेको हो । सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ६३ रनको योगदान दिएका छन् । उनले ५२ बलमा तीन चौका र दुई छक्का प्रहार गरेका छन् । उनले ४४ बलमा तीन चौका र एक छक्काको सहयोगमा अर्धशतक पूरा गरेका थिए ।
आरिफ शेखले २० रन बनाउँदा क्याच आउट भए। स्कट कुग्लेजिन एक रनमा नटआउट रहेका थिए । त्यस्तै, ११ बलमा दुई चौका र एक छक्काको सहयोगमा २० रन बनाएका सेल्डन ज्याकसन सूर्य तामाङको बलमा विकेटकिपर लोकेश बमबाट आउट हुन पुगेका थिए । ११ बलमा १४ रन बनाएका हरमित सिंह प्रतिश जिसीको बलमा साम हेटलेजको हाटबाट क्याच आउट भए । इशान पाण्डे १३ रनमा आउट भए । ओपनर मुख्तर अहमद १० रन बनाउँदा मर्चेन्टको बलमा बोल्डआउट भए । कप्तान दीपेन्द्रसिंह ऐरी तीन रनमा रनआउट हुन पुगे ।
विराटनगरका लागि मार्चेन्ट डे लाङ्गे र प्रतिश जिसीले दुई–दुई विकेट लिएका छन् । सूर्य तामाङ र साम हेजलेटले समान एक विकेट लिए । एनपीएलको पहिलो खेलमा विकेटविहीन बनेका कप्तान सन्दीप लामिछानेले आफ्नो स्पेलमा १६ रन दिए । विराटनगरले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
पहिलो क्वालिफायरको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ । पराजित हुने टोलीले दोस्रो क्वालिफायरमा फाइनल पुग्ने मौका पाउनेछ । आजको खेलमा पराजित हुने टोलीले दोस्रो क्वालिफायरमा एलिमिनेटर खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।