काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले आफू राजनीतिमा सक्रिय भइसकेको स्पष्ट पारेका छन् ।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले निर्वाचनमा उम्मेदवारी दर्ता गर्ने समय आएपछि मन्त्री पदबाट राजीनामा दिने संकेत गरेका हुन् । घिसिङले भने, ‘जब हामी चुनावमा जान्छौँ र उम्मेदवारी दर्ता गर्ने समय आउँछ, त्यसबेला उपयुक्त समयमा आवश्यक निर्णय लिन्छौँ ।’ उनका अनुसार अहिलेको सरकारको मुख्य कार्यभार नै आगामी निर्वाचन सम्पन्न गर्नु हो ।
उनले चुनावमा नयाँ शक्तिहरू एक भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै आपसी सहकार्यमा जोड दिएका छन् । उनले भने, ‘आ–आफ्नो क्षेत्रबाट जुनसुकै परिस्थितिमा योगदान पुर्याउनुपर्छ । सबैले आफू मात्रै सही भन्ने सोच राख्नु हुँदैन, को–को कसरी मिल्ने भन्नेभन्दा पनि नयाँ शक्तिहरू सबै मिलेर जानुपर्छ भन्नेमा हाम्रो एकमत छ ।’
घिसिङले समन्वय र एकतामार्फत मात्रै प्रभावकारी राजनीतिक परिवर्तन सम्भव हुने धारणा व्यक्त गरेका छन् ।