शुक्रवार, आश्विन १६ गते २०८३

एमाले ताप्लेजुङले समानुपातिकतर्फ एक महिलासहित तीन जना सिफारिस

बिहिवार , पौष १०, २०८२

काठमाडौं । नेकपा एमाले ताप्लेजुङले आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिकतर्फ एक महिलासहित तीन जनाको नाम सिफारिस गरेको छ ।

एमाले ताप्लेजुङका कार्यवाहक जिल्ला अध्यक्ष दीपेन्द्र पोमू (दीपेन) का अनुसार खुल्लातर्फ सिरिजङ्गा गाउँपालिका वडा नं १ सिनामका अनन्तबहादुर साँवा र आठराई त्रिबेणी गाउँपालिका वडा नं ३ हाङपाङका लक्ष्मीबहादुर यक्सो रहेका छन् । महिलातर्फ फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवाका चन्द्रकला खतिवडा भट्टराई रहेकी पोमूले जानकारी दिएका छन् । साँवा एमालेको कोशी प्रदेश सचिवालय सदस्य हुन् भने यक्सो सल्लाहकार परिषद् सदस्य हुन् ।

खतिवडा एमाले जिल्ला सदस्य हुन् । साँवा र यक्सो दुबै २०७४ सालको स्थानीय तहको निर्वाचनमा क्रमशःसिरिजङ्गा र आठराई त्रिबेणी गाउँपालिकामा एमालेको तर्फबाट पालिका अध्यक्षको प्रतिश्पर्धी थिए । यक्सो र साँवा दुवै शिक्षण पेशाबाट अवकासप्राप्त व्यक्ति हुन् । यक्सोले भूमि सम्बन्धी समस्या समाधान आयोगको जिल्ला अध्यक्ष समेत भएर काम गरेका व्यक्ति हुन् । साँवा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि समेत हुन् ।

एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि बन्न महिला कोटामा दाबी प्रस्तुत गरेकी चन्द्रकलाले सहमतिमा प्रतिनिधि छनौट हुने भएपछि आफ्नो दाबी फिर्ता लिएकी थिइन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार