काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुनः रास्वपासँग संवादमा जोडिएका छन् ।
पछिल्लोपटक भएका छलफलहरू निष्कर्षविहीन भएका थिए । तर, अहिले उनी पुनः छलफलका लागि गएका छन् । केहीबेरअघिमात्रै रास्वपा सभापति रवि लामिछाने केन्द्रीय समिति बैठकबाट निस्किएका छन् । उनीहरूबीच कहाँ छलफल हुने भन्ने खुलेको छैन् । रवि छलफलका लागि बैठकबाट निस्किसकेका छन् । यसअघि सहमति हुन नसक्दा दुवै दलले छुट्टाछुट्टै समानुपातिकको बन्दसूची तयार पारिरहेका थिए ।
आयोगले आजै बन्दसूची बुझाइसक्नुपर्ने बताएको छ । आयोगको समयसीमाको दबाबमा परेका उनीहरू अन्तिम समयमा फेरी छलफलमा जुटेका हुन् ।
रवि–बालेन–कुलमानबीच के एकता सम्भव छ ?
वैकल्पिक राजनीतिक शक्तिबीच सम्भावित एकताबारेको चर्चा फेरि तीव्र बन्दै गएको छ । रास्वपाका सभापति लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उनेपाका संरक्षक घिसिङबीच समय–समयमा संवाद भएपनि अझै औपचारिक एकता भने टुंगो लाग्न सकेको छैन् ।
स्रोतहरूका अनुसार तीन पक्षबीच सहकार्यको इच्छा रहेको भए पनि एकीकरणको संरचना, नेतृत्वको भूमिका, चुनावी तालमेलको मोडालिटी र पार्टी पहिचानजस्ता संवेदनशील विषयमा सहमति जुट्न कठिन देखिएको छ । विशेषगरी शीर्ष नेतृत्वको जिम्मेवारी र भविष्यको सत्ता–समीकरणमा कसरी सहभागिता सुनिश्चित गर्ने भन्ने मुद्दा निर्णायक बनेको बताइन्छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार वैकल्पिक शक्तिबीच सहकार्य सम्भावनालाई पूर्ण रूपमा अस्वीकार गर्न नसिने तर तत्कालै एउटै पार्टी गठन हुने अवस्था भने सहज देखिँदैन । निर्वाचन नजिकिँदै जाँदा छलफल अझ चर्किने र संयुक्त उम्मेदवार वा आंशिक तालमेलजस्ता विकल्प पनि छलफलमा आउन सक्ने आकलन गरिएको छ ।
रवि र बालेनबीच एकता भए पनि कुलमानसँग एकता हुन सकेको छैन् । एकताको ढोका अझै बन्द पनि भएको छैन् । तर सहमति जुटाउन अहिले लामिछानेले र घिसिङ छलफलमा जुटेका छन् । पटकपटक भएका विभिन्न वार्ताहरू विफल भएपछि अहिले अन्तिम समयमा पुनः संवाद हुन लागेको छ ।
आजको छलफलबाट के सहमती जुट्ला त ?
वैकल्पिक राजनीतिक नेतृत्वबीच भएको एकता प्रयास आज सोमबार पनि जारी छ । रास्वपाका सभापति लामिछाने, काठमाडौं महानगरका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच आइतबार मध्यरातसम्म चलेको वार्ता निष्कर्षबिहीन बनेको थियो । तर वार्ता टुटेको छैन् र आज पनि सहमतिको प्रयासलाई निरन्तरता दिइने बताइएको छ ।
आजको छलफललाई निर्णायक र महत्वपूर्ण चरणका रूपमा हेरिएको छ, किनभने सबै पक्षले चुनावी तालमेल र साझा रणनीतिका विषयमा पुनः संवाद अघि बढाउने तयारी गरेको राजनीतिक स्रोतहरूले उल्लेख गरेका छन् । कुलमानले सहकार्यप्रति सकारात्मक सन्देश जारी गर्दै “सम्मानजनक र स्वाभिमानी तरिकाले सहकार्य गर्न तयार” रहेको बताएका छन्, जसले सहमतिको ढोका पूर्ण रूपमा बन्द नभएको संकेत दिन्छ ।
आजको छलफलले त्रिपक्षीय सहमतिमा टुंगो लगाउन सक्ने सम्भावना अझै कायम रहेको राजनीतिक विश्लेषणमा उल्लेख छ, यद्यपि अहिलेसम्म कुनै औपचारिक निर्णय सार्वजनिक भइसकेको छैन् ।