काठमाडौँ । भदौ २३ र २४ को घटना छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बयानमा बोलाउन पत्र काट्ने तयारी गरेको छ ।
जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बिहीबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीलाई बयानमा बोलाउन पत्र पठाउन लागेको जानकारी दिएका हुन् ।
आयोगले पूर्वगृहमन्त्री रमेश लेखकको बयान लिइसकेको छ । बयान दिने पालो अब पूर्वप्रधानमन्त्री ओलीको हो । तर, ओलीले भने आयोगमा बयान नदिने बताउँदै आएका छन् । आफ्नो छातीमा गोली हाने पनि बयान नदिने अडान ओलीको छ ।
ओलीले यदी आफूलाई बयानका लागि बोलाएको खण्डमा फागुन २१ गतेको निर्वाचन हुन नदिने चेतावनी समेत दिएका छन् । त्यस्तै एमालेका नेता महेश बस्नेतले ओलीलाई बयानका लागि बोलाए लाखौँ कार्यकर्ता सिंहदरबार भित्र छिर्ने धम्की दिइसकेका छन् । पछिल्ला गतिविधि हेर्दा ओली बयान दिन कुनै पनि हालतमा जाने मुडमा देखिदैनन् ।
यदी ओली बयान दिन नगए के हुन्छ ? चासोको विषय बनेको छ। पहिलो चरणमा आयोगले ओलीको नाममा पत्र काट्दै बयानका लागि बोलाउँछ । ओली बयानका लागि नआए आयोग अर्को विकल्पमा जानसक्छ ।
आयोगले दोस्रो चरणमा प्रहरी मार्फत ओलीलाई बयानका लागि पत्र पठाउँछ । यदी प्रहरीले पत्र पठाउँदा पनि बयानका लागि नआए ओलीलाई पक्राउ गरेर भए पनि बयानका लागि हाजिर गराउन सकिन्छ । तर, ओली पक्राउ पर्ने सम्भावना भने खासै देखिदैन । अन्तरिम सरकारले ओलीलाई पटक पटक पक्राउ गर्ने प्रयास गरेको थियो ।
गृहमन्त्री ओमप्रकाश अर्यालले नै प्रहरीलाई ओलीलाई पक्राउ गर्न निर्देशन दिएका थिए । तर, प्रहरी प्रमुखले सरकारले भनेको मानेन । सुरक्षा संवेदनशिलतालाई लिएर प्रहरी ओली पक्राउ गर्न मानिरहेको छैन ।
जेनजीको बटमलाइन भनेकै ओलीलाई पक्राउ गर्नु हो । त्यस्तै एमालेका केही नेता ओलीलाई पक्राउ गर्नुपर्ने पक्षमा देखिएका छन् । केही समय अगाडि पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीले बालुवाटारमा प्रधानमन्त्रीसँग गरको छलफलमा ओलीलाई पक्राउ गर्ने विषयमा कुराकानी भएको समेत खुलासा भएको थियो ।
त्यस्तै एमालेको ११ औँ महाधिवेशनमा पार्टी अध्यक्षमा ओलीसँग पराजित भएका ईश्वर पोखरेलले भदौ २३ गतेको घटनाको जिम्मेवारी ओली सरकारले लिनुपर्ने बताइसकेका छन् । चौतर्फी पक्राउ गर्नुपर्ने माग उठ्दा समेत ओली पक्राउ पर्ने सम्भावना भने न्यून देखिन्छ ।