काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को सचिवमा सुरज सिलवालले उम्मेदवारी दिएका छन् । उनी इक्यानको अहिलेको कार्यसमिति सदस्य हुन् । उनले यसअघि भएको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर सदस्य जितेका हुन् ।
इक्यानको निर्वाचन पौष २८ गते सोमबार काठमाडौंमा हुँदैछ । साधारणसभासँगै हुने निर्वाचनले अध्यक्ष, उपाध्यक्ष तीनजना, महासचिव, सचिव दुइजना, कोषाध्यक्ष, सह–कोषाध्यक्ष र ९ जना सदस्य रहेको १८ जनाको कार्यसमिति चयन गर्ने छ । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको रहने छ । सिलवालले आफूलाई सचिवमा मतदान गर्नुपर्ने कारण स्पष्ट पार्दै सबैसँग सहयोगको अपेक्षा गरेका छन् । बिगत १५ वर्षदेखि शिक्षा परामर्श व्यवसायमा सक्रिय सिलवालले संस्थागत सुधार र व्यवसायीहरूको हकहितका लागि सचिवमा उम्मेदवारी दिएको बताएका छन् ।
कनेक्ट ग्लोब एजुकेशन ग्रुपका निर्देशकसमेत रहेका सिलवाल हाल इक्यानको कार्यसमिति सदस्य भएर काम गरिरहेका छन् । सिलवालले आफ्नो उम्मेदवारीसँगै ८ बुँदे कार्ययोजना अघि सारेका छन् । सम्पूर्ण ईक्यान सदस्यहरूलाई संघको कार्यक्रममा नेतृत्वदायी भूमिका प्रदान गर्ने र व्यावसायिक तालिम सुनिश्चित गर्ने, केन्द्र तथा प्रदेश सरकारसँग समन्वय गरी शिक्षा परामर्श क्षेत्रको नवीकरण र नयाँ स्वीकृति प्रक्रियालाई सरल र प्रभावकारी बनाउन पहल गर्ने बताएका छन् ।
यसैगरी उनले विदेशी विश्वविद्यालय तथा कलेजहरूलाई नेपालमा आमन्त्रण गरी अन्तर्राष्ट्रियस्तरको व्यावसायिक सहकार्यका कार्यक्रमहरू सञ्चालन गर्ने, केन्द्रदेखि शाखासम्मका सदस्यहरूको व्यावसायिक अवसर र सूचनामा पहुँच पुर्याउन ‘मेम्बर ओरिएन्टेड’ कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, ‘द नलेज हाउस’ अभियानमार्फत कोष संकलन गरी इक्यानको आफ्नै भवन निर्माण गर्ने दीर्घकालीन लक्ष्यतर्फ ठोस कदम चाल्नेलगायतका प्रतिबद्धता उनले गरेका छन् ।
उनले भनेका छन्, ‘व्यक्तिगत स्वार्थभन्दा माथि उठी इक्यानको संस्थागत हित र सम्पूर्ण सदस्यहरूको आवाज बनेर पारदर्शिता र जवाफदेहीताका साथ अघि बढ्ने मेरो प्रतिबद्धता छ ।’ उनी बिगत १० वर्षदेखि इक्यानको साधारण सदस्य भएर काम गरेका छन् । उनले आफ्नो विगतको कार्यसम्पादन र भावी योजनाका आधारमा सदस्यहरूबाट अमूल्य मत र समर्थन पाउनेमा आफू विश्वस्त रहेको बताए ।
सदस्य हुँदा नै धेरै काम गरेका उनले सचिवको जिम्मेवारी आएपछि संस्थाको हकहितमा सक्रिय हुन थप सहयोग मिल्ने बताएका छन् ।