आइतवार, श्रावण २४ गते २०८३

कांग्रेसका कार्यकर्ता आफ्नै नेतामाथि आक्रमण गर्न थाले, देउवा निकटका नेताहरु टार्गेटमा, धकेलाधकेल भएपछि...

मंगलवार , पौष २२, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका नेता र कार्यकर्ता एक आपसमा भिड्न थालेका छन् ।  मंगलबार कार्यसम्पादन समितिको बैठकमा सहभागि हुन नेताहरु कांग्रेस पार्टी कार्यालय सानेपा पुग्दा कार्यकर्ता भने विरोधमा उत्रिए ।

कांग्रेस पार्टी कार्यालय बाहिर विशेष महाधिवेशन पक्षधरका कार्यकर्ताले नेताहरूलाई पार्टी कार्यालय प्रवेश गर्न अवरोध गरेका हुन् । गेटबाट भित्र प्रवेश गर्न नदिएपछि नेताहरू वैकल्पिक गेटबाट भित्र प्रवेश गरेका थिए ।

बैठकमा सहभागी हुन सानेपा पुगेका नेता विमलेन्द्र निधि र कार्यालयमा प्रदर्शनरत समूहबीच धकेलाधकेल नै भयो । पार्टी केन्द्रीय कार्यालय सोनपा घेराउका लागि पुगेका केही विशेष महाधिवेशन पक्षधरले नेता निधिलाई पार्टी कार्यालय प्रवेशमा अवरोध गरेका थिए ।  त्यही क्रममा निधि र प्रदर्शनकारी कांग्रेस कार्यकर्ताबीच धकेलाधकेल भएको हो ।  

निधिले अवरोध गर्नेहरूलाई ‘को हो त्यो मान्छे? को हो? कांग्रेसी होइन यो, कांग्रेसी होइन’ भनेपछि विशेष महाधिवेशन पक्षधर कार्यकर्ताले  ‘तपाईं चैं हो?’ भन्दै प्रतिप्रश्न गरे । विशेष महाधिवेशन हुन्छ की हुँदैन ? के त फेरि भदौ २४ गतेको झै भाग्ने बिचार छ ? कार्यकर्ताले प्रश्न गर्दै सोधेका थिए । त्यसपछि निधि पनि आक्रोशित हँदै ‘चुप शान्त स्वभावमा बोल्ने भन्दै प्रतिवादमा उत्रिए । अवस्था अशान्त बनेपछि कांग्रेस कार्यालयको गेटमा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा लगायतको एक समुह पुष मसान्तभित्र विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छ । यो समुहले हलसमेत बुकिङ गरिसकेको छ । तर, कांग्रेस सभापति शेरबहादुर देउवा पक्ष चुनावपछि मात्रै पार्टीको १५ औँ महाधिवेशन गर्ने बताइरहेको छ । 

यसैबीच कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वैशाख अन्तिम हप्ता नियमित महाधिवेशन गर्ने निर्णय गरेको छ । पुष १९ गते पार्टी कार्यालय सानेपामा बसेको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले चुनावपछि महाधिवेशन गर्नेगरी प्रस्तुत कार्यतालिकासहितको प्रस्ताव बहुमतले पारित गरिएको हो ।

कार्यतालिकाअनुसार कांग्रेसको १५औं महाधिवेशन वैशाख २८ देखि ३१ सम्म काठमाण्डौमा हुनेछ । यही पुसमा प्रस्ताव गरेको १५औँ महाधिवेशन विभिन्न समस्याका कारण हुन नसकेकाले त्यो कार्यतालिका परिमार्जनसहित बहुमतले पारित गरिएको प्रवक्ता प्रकाशशरण महतले बताएका छन् ।

तर, केन्द्रीय कार्यसम्पादन समिति बैठकले पुसभित्र आवधिक महाधिवेशन नगरी नयाँ कार्यतालिका पारित गरेकाले अब विधान अनुसार विशेष महाधिवेशन हुने महामन्त्री थापाको दाबी छ । पुषभित्र नियमित महाधिवेशन हुन नसकेको अवस्थामा विशेष महाधिवेशन बोलाउन बाध्यकारी भएको उनको भनाइ छ ।

विशेष महाधिवेशन आयोजकले देशभरका प्रतिनिधिहरूलाई पुस २६ गते शनिबारसम्म काठमाडौँ आइपुग्न निर्देशन दिएका छन्। कांग्रेसभित्र महाधिवेशनबारे विवाद उत्कर्षमा पुगेको छ । पार्टी नै विभाजन हुने जोखिम देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार