आइतवार, श्रावण २४ गते २०८३

चौतर्फी आलोचनापछि कुलमान घिसिङले मन्त्री पदबाट दिए राजीनामा

बुधवार , पौष २३, २०८२

काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिएका छन् । चौतर्फी आलोचना भएपछि घिसिङले मन्त्रीको पदबाट राजीनामा दिएका हुन् । 

आज बेलुकासम्म पनि कुलमान घिसिङलाई मन्त्रीको कुर्सी यती प्यारो लागिरहेको थियो- जति प्रयास गरेपनि छाड्न सकिरहेका थिएनन् । अगाडि पछाडि सुरक्षा गार्ड, जहाँ गयो त्यहाँ फुलमाला, अनि ठेगेदारलाई  ठाउँको ठाउँ थकार्उन मिल्ने - यस्तो सुविधा दिने मन्त्रीको कुर्सीलाई कुलमानले कसरी छाडुन ? कुर्सी जोगाउनकै लागि कुलमानले झुटमाथि झुट बोले ।

प्रधानमन्त्री सुशीला कार्कीले दलमा आवद्ध भएकाले तत्काल मन्त्रीको पदबाट राजीनामा दिन निर्देशन दिए पनि कुलमानले आनाकानी गरेका थिए । सहरी विकास, ऊर्जा जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी कुलमानले हाँकिरहेका थिए । 

अन्तरिम सरकार भनेको त्यस्तो सरकार हो-जहाँ दलहरुको गन्ध आउनु हुँदैन । कुनै पनि दलमा आबद्ध नभएकाहरु प्रधानमन्त्रीदेखि मन्त्री हुन्छन् । किनकी यो सरकार दलहरुको सरकारलाई ढालेर बनेको सरकार हो । त्यसैले नागरिक सरकारमा दलमा आवद्ध भएकाहरुको नैतिकताले पनि बस्न दिदैँन ।

मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री कार्कीले कुलमानलाई तत्काल राजीनामा दिन निर्देशन दिएकी थिइन । तर, कुलमानले प्रधानमन्त्री कार्कीको निर्देशनलाई टेरेनन्। उल्टै कुलमानले झुट बोल्दै भने, ‘अहिलेसम्म म कुनै पनि पार्टीको सदस्य भएको छैन’

कुलमान घिसिङको अगुवाइमा उज्यालो नेपाल पार्टी गठन भएको थियो। पुस २४ गते उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकता गर्ने निर्णय गरेको थियो। एकता गर्ने सहमति कुलमान र रविबीच भएको थियो ।

कुलमानलाई रास्वपाको उपसभापति बनाइएको छ । तर, कुलमानले लाज पचाएर आफू कुनै पार्टीको सदस्य नभएको दाबी गरिरहेका छन् ।  

एकातर्फ मन्त्रीको कुर्सीमा बसिरहने र अर्कोतर्फ दलमा सक्रिय हुने कुलमानको दोहोरो चरित्रले अन्तरिम सरकारको बदनाम भएको भन्दै चौतर्फी आलोचना भएपछि अन्तत कुलमानले मन्त्रीबाट राजीनामा दिएका हुन् ।

यदी कुलमानले राजीनामा नदिएको भए प्रधानमन्त्री कार्कीले उनलाई पदबाट बर्खास्त गर्ने तयारी गरेकी थिइन । तर, बर्खास्त हुनुभन्दा राजीनामा दिनु उचित भएको महशुस गर्दै कुलमानले प्रधानमन्त्री कार्कीलाई राजीनामा पत्र बुझाएका छन् । 

 

प्रतिक्रिया
सम्बन्धित समाचार