काठमाडौँ । जाँचबुझ अयोगले बयान लिए लगत्तै पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ पर्ने आँकलन गरिएको थियो । किनकी भदौ २३ गते प्रहरीले जेनजी युवालाई ताकी ताकी गोली हान्दा तीन घण्टाको अन्तरालमा १९ जनाको ज्यान गयो ।
अधिकांश गोली छाती र टाउकोमा लागेका थिए । उक्त घटनाको जिम्मेवारी तत्कालिन ओली सरकारले लिनुपर्ने मत बलियो थियो । ओलीलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउनुपर्ने पक्षमा एमालेभित्रकै एक समुह समेत थियो । जेनजीहरुको मुख्य माग भनेकै-पूर्वप्रधानमन्त्री ओलीलाई पक्राउ गर्नुपर्ने हो ।
तर, ओली अब पक्राउ नपर्ने पक्कापक्की भएको छ । पुस २१ गते जाँचबुझ आयोगको टोलीले गुण्डु पुगेर ओलीको बयान लिएको थियो । बयान लिएको भोलिपल्टै ओलीलाई लगाइएको स्थानहद फुकुवा गरियो । उपत्यका बाहिर र विदेश भ्रमणमा जान सरकारले अवरोध नगर्ने भएपछि ओलीले अब आफू पक्राउ नपर्ने संकेत पाइसकेका थिए ।
तर, ओलीको मनले भने मानेन । प्रधानमन्त्री सुशीला कार्कीको नाडी छाम्न ओली बिहीबार बिहान ११ बजे बालुवाटार पुगे । बालुवाटारमा ओलीले प्रधानमन्त्री कार्कीसँग तीन घण्टा वान टु वान वार्ता गरे । उक्त वार्तामा ओलीले प्रधानमन्त्री कार्कीको नाडी छाम्दा आफूलाई पक्राउ गर्ने योजनामा सरकार नरहेको स्पष्ट सन्देश पाएका हुन् ।
फागुन २१ गते चुनाव गराएर सत्ता हस्तान्तरण गर्ने योजनामा सरकार छ । यदी ओलीलाई पक्राउ गरेपछि चुनावी माहोल बिर्गिन सक्ने भएकाले सरकार पछि हटेको देखिन्छ । सरकारको योजना थाहा पाएपछि ओलीलाई हाइसन्चो भएको छ । अब ओली ढुक्कका साथ चुनावमा होमिने तयारीमा जुटेका छन् ।
एउटा संकट टरेपनि ओलीलाई फेरि अर्को संकट भने छ । यदि फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमार्फत रास्वपाको नेतृत्वमा सरकार गठन भए ओलीलाई भारी पर्नसक्ने देखिन्छ। त्यसैले ओली जसरी भएपनि नेकपा एमालेलाई पहिलो दल बनाउन निकै कसरत गर्नेछन् । उनले चुनावमा कांग्रेससँग तालमेल गर्नको लागि छलफल समेत गरिरहेका छन् ।