काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अन्तर्गत झापा ५ मा रोचक भिडन्त हुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता तथा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह झापा ५ बाट उम्मेदवार बन्ने पक्कापक्की भएसँगै यस निर्वाचन क्षेत्रमा निकै रोचक भिडन्त हुनेछ ।
झापा ५ पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पकड भएको क्षेत्र हो । २०७९ मा भएको निर्वाचनमा यस क्षेत्रबाट ओली ५२ हजार ३१५ मतले विजय भएका थिए । २०७४ सालको निर्वाचनमा पनि यसै निर्वाचन क्षेत्रबाट ओलीले ५७ हजार १ सय ३९ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । यो निर्वाचनमा अहिलेसम्म विजयी उम्मेदवारले ल्याएको मत मध्ये ओलीको मत सर्वाधिक हो ।
ओलीको पकड भएको क्षेत्रमा बालेनले चुनाव लड्ने आँट गर्नु आफैमा रोचक देखिन्छ । झापा ५ बाटै चुनाव लड्ने तयारी बालेनले गरेका हुन् । बालेनले मेयर पदबाट माघ ४ गते राजीनामा दिने भएका छन् ।
त्यसको भोलिपल्ट माघ ५ गते जनकपुरमा पहिलोपटक रवि र बालेन संयुक्त रुपमा सार्वजनिक हुने र चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यसपछि माघ ६ गते बालेनले माघ ६ गते झापामा बाजागाजा र र्यालीसहित उम्मेदवारी दर्ता गर्ने तयारी बालेनको छ ।
आइतबार मात्रै झापाका नेताहरूलाई काठमाडौँमा बोलाएर बालेनले झापाबाट आफू उम्मेदवार हुने बारेमा स्पष्ट धारणा राखेका थिए । झापाबाट उम्मेदवार बन्दा प्रतिपक्षीलाई कसरी कमजोर बनाउने र त्यहाँको सांगठनिक अवस्था, चुनावी रणनीति र विपक्षीको मनोबल कमजोर बनाउने विषयमा बालेनले छलफल अगाडि बढाएका छन् ।
बालेनले झापाबाट चुनाव लड्ने निश्चित भएपछि निर्वाचन क्षेत्रमा कार्यालयका लागि घर खोज्न थालिएको छ। झापा क्षेत्र नम्बर ५ मा चुनावी कार्यालय र बसोबास व्यवस्थापनको लागि घर खोज्ने काम सुरु भएको रास्वपाका नेताहरुले जनाएका छन् ।
अब फागुन २१ को निर्वाचनमा झापा ५ मा ओली र बालेनबीच महाभिडन्त हुने भएको छ । यो महाभिडन्तमा सूर्यको जित हुन्छ या घण्टीको ? यसका लागि निर्वाचनको नतिजासम्म प्रतिक्षा गर्नुपर्ने छ । तर, ओलीको किल्लामा घुसेर उनै ओलीलाई हराउन बालेनलाई त्यति सहज भने देखिदैन ।