काठमाडौँ । आज दिउँसो ३ बजेसम्म पनि फुटबाट कांग्रेसलाई जोगाउनका लागि कांग्रेसका नेताहरु निकै लागिपरेका थिए । तर, कांग्रेस फुटबाट जोगिन सकेन । अन्तत लामो इतिहास बोकेको कांग्रेस दुई टुक्रा भएको छ ।
कांग्रेसका सभापति शेरबहादुर देउवा समूहले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पाँच वर्षका लागि कारबाही गरेको छ । यता विशेष महाधिवेशनले अब सभापतिमा गगन थापालाई चयन गर्ने तयारी गरेको छ । देउवाको नेतृत्वमा चुनावमा जान नसकिने भन्दै विशेष महाधिवेशन पक्षधर नेताहरूले विशेष महाधिवेशन बोलाउन पटक पटक माग गरे ।
देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतले विशेष महाधिवेशन बोलाउन इन्कार गरेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बोलाए ।
विशेष महाधिवेशन उद्घाटनको दिनसम्म पनि सभापति देउवा मौन थिए । जब महाधिवेशन नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियामा गयो, तब देउवा त्रसित बने । अनि पार्टी फुटाउनु हुदैन भन्दै देउवाले संवादलाई तिव्रता दिए । तर, देउवाको प्रयास सफल भएन ।
भावुक बने देउवा
केही दिन यता नेपाली कांग्रेसका सभापति देउवाको बोली फुटिरहेको छैन । उनि बोल्दैनन्, कसैले केही सोधेको खण्डमा टाउको हल्लाएर इसारा मात्रै गर्छन । आज बिहान देउवाले बोलाएपछि गगन र विश्वप्रकाश देउवा निवास पुगे । देउवासँग गगन र विश्वप्रकाशको ४५ मिनेट कुराकानी भयो । तर, देउवा थोरै मात्र बोले ।
छलफलको क्रममा दुबै महामन्त्रीले दुइ वटा माग राखेका थिए । पहिलो माग थियो चुनावको टिकट वितरणमा देउवाले हस्ताक्षर गर्नुनपर्ने । यस मागमा देउवाले हुन्छ भने । देउवाले निकै भावुक हुदै भने, ‘पार्टी फुट्नु हुँदैन। म उदार हुन तयार छु। हस्ताक्षरको समस्या हो भने त्यसलाई समस्याका रूपमा लिनु पर्दैन। जुनसुकै नेतालाई पनि हस्ताक्षरको अधिकार दिन तयार छु। म पार्टीका जुनसुकै नेतालाई हस्ताक्षरको अधिकार दिन तयार छु। पार्टी नफुटाऊ। म अब (सभापति) हुने पनि होइन। वैशाखमा तपाईं जो कोही पनि हुन सक्नुहुन्छ। किन यसो गर्नुहुन्छ, नगर्नूस्।’
तर महामन्त्रीद्वयले अहिल्यै नेतृत्व छाड्नु पर्ने जिकिर गरेपछि देउवाले मानेनन् । पार्टी सभापतिको पदबाट राजीनामा दिनुपर्ने र गगन थापालाई भावि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्नुपर्ने गगन र विश्वप्रकाशले देउवा सामू दोस्रो माग राखेका हुन् । तर, देउवा बोलेनन् । उनले टाउको मात्रै हल्लाए । देउवा नबोलेपछि गगन र विश्वप्रकाश अब विशेष महाधिवेशनको हलले नै नेतृत्व चयन गर्ने भन्दै त्यहाँबाट भृकुटीमण्डप लागे ।
नेतृत्व चयनको प्रक्रियामा अघि बढेपछि देउवाले गगन र विश्वप्रकाशमाथि कारबाहीको डन्डा चलाएका छन् । कारबाहीको डन्डा चलेसँगै कांग्रेस विभाजन भएको छ । राजनीतिक उत्तरार्धमा आएर पार्टी फुटेपछि देउवा निकै भावुक बनेका छन् ।