शनिवार, कार्तिक ८ गते २०८३

पुल नहुँदा ४ जनाले ज्यान गुमाए, पुल निर्माणको ठेक्का लिएका ठेकेदार फरार छन्

बिहिवार , भाद्र १७, २०७८

काठमाडौं। नेपालमा सडक र पुल निर्माणमा ढिलासुस्ती हुँदै आएको छ। ठेकेदार र कम्पनीहरुले कामका लागी ठेक्का लिने तर काम भने समयमै नगर्ने प्रवृतीका कारण आम सर्वसाधारणले जोखिम मोलेर यात्रा गार्नुपर्ने बाध्यता छ। 

दाङमा भने ठेकेदारले समयमै पुल निर्माण नगर्दा ४ जनाले ज्यान गुमाउनु परेको छ।  दाङको घोराही-लमही सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका-४ स्थित सिस्ने खोला तर्ने क्रममा कारलाई बाढीले बगाउँदा कारमा सवार चार जनाको मृत्यु हुनुको साथै चालक घाइते छन् ।

सिस्ने खोलाको पुल निर्माण ढिला हुँदा कज्वेबाट जोखिम मोलेर आउजाउ गर्नुपर्ने बाध्यता छ। सो पुल निमार्याका लागी एडभेन्चर जेभीले ठेक्का लिएको छ। तर समयमै पुल निर्माण नगर्दा पछिल्लो कार दुर्घटनामा चार जनाको ज्यान गएको जिल्ला प्रशासनको ठहर गरेको छ।

जिल्ला प्रशासन दाङले पुल निर्माणमा ढिलासुस्ती गरेको भन्दै एडभेन्चर जेभीका प्रतिनिधि यज्ञ केसीलाई पक्राउ गर्न यस अघिनै प्रह्रीलाई पत्र काटेको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए। तर उनी फरार रहेको भन्दै प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन।

ठेकेदार बाँकेको भएकोले साउन २५ गते नै बाँके प्रहरीलाई पत्र लेखेर पक्राउ गर्न भनेको भनेको बताए। पुल निमार्णका लागी कच्चा पदार्थ तथा रकमको समस्या भए सजजिकरण गर्छु भनेपनि ठेकेदार सम्पर्कमा नआउँदा यस्तो दुखद घटना भएको उनको भनाई छ। 

काममा ढिलासुस्ती भएपछि प्रजिअ कुरुम्वाङले केसीलाई असार २८ गते निर्माणस्थलमै पुगेर काम छिटो सक्न सचेत गराएका थिए। केसीले एक महिनाभित्र काम सक्ने प्रतिबद्धता जनाएपनि केसीले काम पूरा नगरेपछि साउन २५ गते प्रहरीलाई पक्राउ गर्न पत्र काटेका थिए।

सिस्ने खोला पुल निर्माण गर्न २०७४ सालमा ठेक्का सम्झौता भएको थियो। ७० मिटर लम्बाइको उक्त पुल निर्माणको लागत नौ करोड छ । कोरोना संक्रमणलाई कारण देखाउँदै निर्माण सम्झौतामा थपिएको म्याद गत असारमै सकिएको छ। हाल पुलको ढलान सकिएको छ। सडकसम्म जोड्ने एप्रोच लगायतको काम गर्न बाँकी छ।
 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार