काठमाडौँ । सायद नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाले फागुन २१ गतेको निर्वाचनमा टिकट नपाउने कल्पना समेत गरेका थिएनन् ।
पुस २९ गतेसम्म सबै शक्ति देउवाको हातमा नै थियो । डडेल्धुराबाट अन्तिम पटक चुनाव लड्ने देउवाको तयारी थियो । कैलाली-५ बाट उम्मेदवार बन्ने तयारीमा आरजु जुटेकी थिइन । तर, पुस ३० गते विशेष महाधिवेशनबाट गगन थापा कांग्रेसको सभापतिमा चयन भएपछि देउवा शक्तिविहीन भए । आफू सभापतिबाट हटेपनि गगन थापाले टिकट दिनेमा देउवा आशावादी थिए ।
हिजो रातिसम्म देउवाले डडेल्धुराबाट चुनाव लड्न टिकट मागिरहेका थिए, तर सभापति गगनले टिकट दिएनन् । देउवाले २०४८ सालदेखि निरन्तर डडेल्धुराबाट चुनाव लड्दै र जित्दै आएका थिए । उनी अहिलेसम्म सात पटक निर्वाचित भइसकेका छन् । गगनले टिकट नदिएसँगै डडेल्धुरामा देउवा युगको अन्त्य भएको छ ।
त्यस्तै यता आरजुले पनि टिकट पाउन निकै प्रयास गरेकी थिइन । सभापति गगनले आरजुलाई पनि टिकट दिएनन् । प्रत्यक्षबाट चुनाव जितेर फागुन २१ गतेपछि देउवाको बलमा प्रधानमन्त्री बन्ने आरजुको सोच थियो ।
तर, टिकट नपाएपछि उनको सपना चक्नाचुर भएको छ । गगन थापाले आफ्नो टिकट खोसेपछि देउवा र आरजु निकै चिन्तित बनेका छन् । देउवालाई टिकट नदिएपछि देउवा पक्षका नेता कार्यकर्ता सभापति गगनको विरुद्धमा उभिएका छन् । गगन थापाले प्रतिसोध साधेको भन्दै आलोचना भइरहेको छ ।