काठमाडौँ । चुनाव नजिकिएसँगै फेरि संवैधानिक राजतन्त्रको मुद्धा उठ्न थालेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको किल्ला झापा-५ मा चुनाव लड्न पुगेका बालेन शाह यतिबेला घरदैलो कार्यक्रममा व्यस्त छन् । रास्वपाका वरिष्ठ नेता बालेनको उदेश्य भनेको- झापा ५ मा ओलीलाई पराजित गर्दै प्रधानमन्त्री बन्नु हो ।
भोट माग्न घरदैलो पुगेका बालेनसँग एक वृद्ध मतदाताले राजा फर्काउन माग गरेपछि फेरि संवैधानिक राजतन्त्रको आवाज उठ्न थालेको हो । सार्वजनिक एक भिडियोमा घण्टी चिन्हअंकित लोगो लगाएका ति वृद्ध बालेनलाई भन्छन्,‘ अब राजा पनि ल्याउनुपर्छ कसो ? ठिक की बेठिक ।’ वृद्धको मागमा बालेनले मुस्काउँदै मुन्टो मात्रै हल्लाउछन् ।
बालेनकै टिमका अर्का व्यक्तिले ‘जनता जे भन्छन्, त्यहि हुन्छ’ भन्दै जवाफ दिन्छन । त्यसपछि ति वृद्धले हौसिँदै बालेनलाई फेरि राजा ल्याउन माग गर्छन । अहिले उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । राजतन्त्र पक्षधरले राजा आउ देश बचाउ स्टाटस लेख्दै उक्त भिडियो सियर गरिरहेका छन् ।
शाहले जानकी मन्दिरको दर्शन गरेर चुनावी प्रचार सुरु गरेका थिए । माघ १२ गते पूर्वराजा ज्ञानेन्द्र शाह पनि जनकपुर जाने भएका छन् । शाहको सचिवालयले पूर्वराजा शाह जानकी मन्दिरको दर्शन गर्न जनकपुर जान लाग्नु भएको जानकारी दिएको छ । यसैबीच के फागुन २१ गतेको निर्वाचनपछि संवैधानिक राजतन्त्रमा मुलुक जान सक्छ ? प्रश्न उठेको छ ।
संवैधानिक राजतन्त्र भनेको राष्ट्रपतिको ठाउँमा राजा हुने र कार्यकारी प्रमुख प्रधानमन्त्री हुने व्यवस्था हो । राष्ट्रपति दलको नेता बन्ने भएकाले राष्ट्रपतिले दल निकट भएर निर्णय गर्ने गरेको आरोप लाग्दै आएको छ । अहिलेका राष्ट्रपति रामचन्द्र पौडेलमाथि पनि उक्त आरोप लागेको छ । त्यसैले संवैधानिक राजतन्त्रमा मुलुकलाई लैजानु पर्ने एकथरिको माग छ । चुनाव पछि बन्ने नयाँ सरकारले उक्त माग पुरा गर्नेमा उक्त समुह आशावादी पनि छ ।