काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अस्थिर राजनीतिक अवस्थामा एमसीसीका उपाध्यक्षलाई बोलाएर राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र भइरहेको बताएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा रावलले वर्तमान सरकारले देशको अस्थिर राजनीतिको फाइदा उठाउँदै एमसीसी सम्झौता अघि बढाउन लागेको बताएका हुन्।
‘नेपालमा द्वन्द्वपछि अस्थिर राजनीतिक स्थितिमा एमससी सम्झौताको चाँजो मिलाइयो फेरि अहिले अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र हुदैछ। सरकार जनअनुमोदित होइन। देशलाई दीर्घकालीन असर पार्ने सम्झौता गर्ने जनादेश सरकारलाई प्राप्त छैन।’ उनले लेखेका छन्।
एमसीसीको जनस्तरबाट विरोध भइरहेको छ। सम्झौता कार्यान्वयनमा ढिलाइ भएको भन्दै एमसीसीकै उपाध्यक्ष फातेमा जे सुमर अर्को साता नेपाल आउने भएकी छन्। उनको साथमा अर्का सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स पनि आउने छन्। उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा, विपक्षी दलका नेता केपी शर्मा ओली लगायतलाई भेट्ने कार्यक्रम रहेको जनाइएको छ।