काठमाडौँ । फागुन २१ गते हुने निर्वाचन अन्तर्गत १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरु भोट माग्नमा व्यस्त छन् ।
यस पटकको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन बालेन शाह भिडिरहेको झापा ५ मा सबैको नजर परेको थियो । तर, पछिल्ला केही दिन यता झापा ५ भन्दा पनि रौतहट ४ तर्फ माहोल तातिरहेको देखिन्छ । लामो समयदेखि पत्रकारितामा सक्रिय रहँदै आएका ऋषि धमला रौतहट ४ बाट उम्मेदवार बनेपछि त्यहाको माहोल निकै तातको छ ।
प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट उम्मेदवार बनेका हुन् । उक्त पार्टीकी उपाध्यक्ष धमलाकी श्रीमती हुन् । उम्मेदवारी दर्तासँगै आक्रामक रूपमा घरदैलो अभियानमा जुटेका धमलाको चुनावी प्रचार यतिबेला सामाजिक सञ्जालमा भाइरल नै बनेको छ । धमला कतै जेरी बनाउँदै हिँडेका छन् त कतै काठ काट्दै गरेका भेटिन्छन् । कतै साइकल चलाउन सिक्दै छन् ।
धमला किसानको भान्सादेखि बारीसम्मै पुगेका छन्। चुनावी प्रचारमा डुल्दै गरेका उनले स्थानीय देख्यो कि गएर बेस्सरी अंगालो हाल्छन् र आफ्नो काँधबाट माला निकालेर स्थानीयको काँधमा माला लगाइदिन्छन् । घरदैलोका क्रममा स्थानीयको दयनीय अवस्था देखेर आँसु झार्दै धमलाले आफू अब टुरिस्ट उम्मेदवार नबन्ने घोषणा गर्छन । धमलाले रौतहटमै घरजम गर्ने बाचा पनि गरेका छन् ।
धमलाले चुनावी प्रचार गरेका भिडियोहरु यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । उनको भिडियो आउनासाथ व्यस्त भएका मानिसहरुले पनि नछुटाइ हेरेर मख्ख पर्छन । पत्रकारीतामा धमलाले गर्ने हाउभाउ र बोल्ने शैली निकै भाइरल हुने गरेको थियो । भाइरल हुन मन पराउने धमला चुनावी प्रचारमा पनि उस्तै रप्तारमा देखिएपछि उनले चुनाव जित्लान या हार्लान ? यो विषय निकै रोचक बनेको छ ।